अमेरिकी केन्द्रीय बैंकले फेरि बढायो ब्याजदर

काठमाडौं । अमेरिकामा  अमेरिकी केन्द्रीय बैंक (फेड)ले फेरि ब्याजदर बढाएको छ । बैंकले सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाउने निर्णय गरेको हो ।

बैंकको फेडरल ओपन मार्केट कमिटीले मौद्रिक नीतिका लक्ष्य प्राप्तीलाई गहन रुपमा अध्ययन गरी सन्दर्भ ब्याजदर बढाइएको जनाएको छ ।हाल बढेको ब्याजदरले मूल्यवृद्धि नियन्त्रणमा प्रभावकारी काम गरेको ठहर गर्दै कमिटीले ब्याजदर पुनः वृद्धि गरेको सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ ।

अब अमेरिकी केन्द्रीय बैंकको सन्दर्भ ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्म कायम भएको छ । यसअघि यस्तो दर ४.५० देखि ४.७५ प्रतिशतसम्म थियो । अमेरिकाको हालको ५ प्रतिशतसम्मको सन्दर्भ ब्याजदर १७ वर्षयताकै उच्च हो । यसअघि सन् २००६ को जुलाइमा पनि ५ प्रतिशत थियो ।

फेडले मौद्रिक नीतिमार्फत मूल्यवृद्धिलाई २ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ । यद्यपि २०२३ अन्त्यसम्म ३.३ प्रतिशतसम्म यो दर कायम रहने प्रक्षेपण छ ।

फेडका अध्यक्ष जेरोम पावेलले ब्याजदर वृद्धि अब अन्तिम चरणमा रहेको बताएका छन् । उनको यो भनाइलाई यसपछिका दिनमा ब्याजदर नबढ्नेका रुपमा विश्लेषण गरिएको छ । मूल्यवृद्धि तत्कालै नभई लामो अवधिमा २ प्रतिशतको सीमामा ल्याउने लक्ष्य रहेको उनले टिप्पणी गरेका छन् । एजेन्सी

You might also like

Comments are closed.