अमेरिकी केन्द्रीय बैंक ‘फेड’द्वारा फेरि ब्याजदर वृद्धि

काठमाडौं । अमेरिकी केद्रीय बैंक (फेड)ले फेरि सन्दर्भ  ब्याजदर वृद्धि गरेकाे  छ । फेडरल रिजर्भ बैंकको फेडरल खुला बजार समितिले सन्दर्भ ब्याजदर अर्थात बेन्चमार्क दरलाई ० दशमलव ५० प्रतिशतले वृद्धि गरेको हो ।

अब नयाँ सन्दर्भ ब्याजदर ४.२५ देखि ४.५० प्रतिशतसम्म पुगेको छ ।अमेरिकामा यो सन्दर्भ ब्याजदर सन् १९८० यताकै उच्च हो । फेडले सन् २०२२ मा योसहित ६ पटक ब्याजदर वृद्धि गरेको छ ।

फेडले  मूल्यवृद्धिलाई वार्षिक २ प्रतिशतमा कायम राख्ने लक्ष्यअनुरुप सन्दर्भ ब्याजदर बढाउँदै जाने संकेत गरेको छ । नीति निर्माताले अर्को वर्ष यस्तो दर ५.१ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरेका छन् ।

अमेरिकी ब्याजदरले सुनचाँदी, कच्चा तेल तथा अमेरिकामा उत्पादित वस्तुको मूल्यमा समेत असर पार्ने भएकाले समग्र विश्व अर्थतन्त्रमा प्रभाव पर्दछ ।

सन्दर्भ ब्याजदरले नै अमेरिकामा उपभोक्ताले लिने जुनसुकै ऋण, ओभरड्राफ्टको दर बढाउने छ । जसले गर्दा घर, सवारीसाधन वा व्यापारिक ऋणमा लागत बढ्न जानेछ ।

यस्तो ब्याजदर बढ्दा उपभोक्ताले ऋण लिएर खर्च नगर्ने, घर तथा सवारीसाधनको खरिदमा मितव्ययिता अपनाइने भएकाले समग्रमा तिनको माग घट्न गई मूल्यवृद्धि नियन्त्रणमा सघाउ पुग्ने फेडको दाबी छ ।

 

You might also like

Comments are closed.