आभूषण व्यवसायलाई पारदर्शी बनाउन सातै प्रदेशमा अन्तरक्रिया कार्यक्रम संचालन हुदै

काठमाडौं । सुन, चाँदी, रत्न तथा आभूषण व्यवसायलाई स्वच्छ, पारदर्शी र कानुनसम्मत बनाउने उद्देश्यले महासंघले “स्वच्छ व्यवसाय : सम्मानित व्यवसायी” भन्ने आदर्शका साथ राष्ट्रिय अभियान सञ्चालन गर्दै आएको छ । सोही अभियानअन्तर्गत महासंघले सातै प्रदेशमा प्रादेशिक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

महासंघका अनुसार आभूषण व्यवसायमा संलग्न व्यवसायीहरूलाई विद्यमान नीति, कानुन तथा प्रक्रियासम्बन्धी आवश्यक ज्ञान र सचेतना प्रदान गर्नुका साथै व्यवसाय प्रवद्र्धन र क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम विशेषतः आर्थिक ऐनमा व्यवस्था भएका कर तथा राजस्व प्रणाली, लेखा व्यवस्था, गुणस्तर तथा नापतौलसम्बन्धी प्रावधान, आपराधिक गतिविधि नियन्त्रणका लागि अपनाउनुपर्ने सुरक्षा उपाय, व्यवसायमा देखिएका समस्या पहिचान तथा समाधानका उपाय, साथै नीतिगत पहल र रणनीतिमा केन्द्रित रहने जनाइएको छ ।

व्यवसायीहरूलाई कानुनी रूपमा जिम्मेवार, पारदर्शी तथा सुरक्षित व्यावसायिक अभ्यासतर्फ अभिमुख गराउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिने महासंघले जनाएको छ । कार्यक्रम प्रदेशस्तरमा महासंघअन्तर्गतका आवद्ध सदस्य संघहरू तथा सम्बन्धित सरकारी निकायहरूसँग समन्वय र सहकार्यमा सञ्चालन हुनेछ ।

कार्यक्रमलाई प्रभावकारी रूपमा सम्पन्न गर्न सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सम्बन्धित प्रदेश महासंघलाई दिइएको छ भने केन्द्रीय महासंघका पदाधिकारीहरूलाई प्रदेशअनुसार कार्यविभाजन गरिएको छ । सातै प्रदेशका अध्यक्षहरूको संयोजनमा विभिन्न समय र स्थानमा कार्यक्रम आयोजना गरिने महासंघले जनाएको छ ।

कार्यक्रमको औपचारिक शुभारम्भ गण्डकी प्रदेशबाट पुस २६ गते शनिबारका दिन सम्पन्न भइसकेको छ, जसमा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यसै क्रमलाई निरन्तरता दिँदै लुम्बिनी प्रदेशमा मिति २०८२ माघ ६ गते, कर्णाली र सुदूरपश्चिम प्रदेशमा  माघ १० गते, कोशी प्रदेशमा माघ १२ गते, मधेश प्रदेशमा माघ १७ गते र वागमती प्रदेशमामाघ २४ गते कार्यक्रम आयोजना गरिने तय भएको छ ।

महासंघले यस अभियान तथा कार्यक्रमलाई सफल बनाउन आवश्यक समन्वय, तयारी तथा व्यवस्थापनमा महासंघअन्तर्गतका सम्पूर्ण निकाय, संघ–संस्था तथा सम्बन्धित सरोकारवालाहरूलाई सक्रिय सहयोग गर्न अनुरोध गरेको छ।

You might also like

Comments are closed.