कात्तिक २९ देखि ‘फीन इलेक्ट्रो टेक –२०२४’ हुँदै, तयारी तीव्र बनाइदै

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको ‘फीन इलेक्ट्रो टेक– २०२४’ को तयारी तीव्र बनाइएको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघ (फीन) को आयोजनामा ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ नारासहित आउँदो कात्तिक २९ गते बिहीबारदेखि ४ दिनसम्म ११ औँ संस्करणको रुपमा ‘फीन इलेक्ट्रो टेक – २०२४’ हुँदैछ ।

फीन इलेक्ट्रो टेकमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको खरिदबिक्रिसँगै यस बारेमा आवश्यक जानकारी समेत उपलब्ध गराइनेछ । साथै यो वर्ष इलेक्ट्रिक सामग्रीको सुरक्षित प्रयोग र गुणस्तरलाई विशेष प्राथमिकता दिइएको फीनका अध्यक्ष रेशमप्रसाद देवकोटाले जानकारी दिए ।

प्रत्येक २–२ वर्षमा आयोजना हुने ‘इलेक्ट्रो टेक’ मेलाअन्तर्गत यो वर्षको मुख्य प्रायोजनको रुपमा ट्रान्सवेल्ड नेपाल प्रालि रहेको छ । इलेक्ट्रो टेक मेलामा नेपालमा नै उत्पादिन विद्युतीय सामग्रीका साथै अन्तर्राष्ट्रिय ब्राण्डहरु पनि प्रदर्शनमा राखिँदै आइएको छ ।

मेलामा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरण प्रदर्शनीमा राखिनेछ । यसअघि फीन इलेक्ट्रो टेक मेलाको तयारीस्वरुप फीनले स्टेक होल्डर तथा विज्ञापन दाताहरुसँग परामर्श कार्यक्रम आयोजना गरेको जनाइएको छ ।

You might also like

Comments are closed.