फीन इलेक्ट्रो टेक : नयाँ–नयाँ प्रविधि तथा प्रडक्टलाई कन्जुमरसँग चिनाउने अवसर

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघ (फीन) ले ११औं संस्करणको रुपमा ‘फीन इलेक्ट्रो टेक २०२४’ आयोजना गर्दैछ । यही कात्तिक २९ गतेदेखि मङ्सिर २ गतेसम्म (४ दिन) फीन इलेक्ट्रो टेक हुनेछ । प्रत्येक २ वर्षको अवधीमा फीन इलेक्ट्रो टेक हुँदै आइरहेको छ । अहिले यहाँ हुन गइरहेको फीन इलेक्ट्रो टेकका सम्बन्धमा महासंघका महासचिव गोपाल अग्रवालसँग गरिएको कुराकानी प्रस्तुत छ :

नेपाल विद्युतीय व्यवसायी महासंघ (फीन) ले हरेक २ वर्षमा मेला आयोजना गर्नुको उद्देश्य के हो ?
महासंघले प्रत्येक २ वर्षमा फीन इलेक्ट्रो टेक आयोजना गर्दै आइरहेको छ । २ वर्षको अन्तरालपछि यही कात्तिक २९ देखि ११औं संस्करणको इलेक्ट्रो टेक हुँदैछ । व्यापार तथा व्यवसायको प्रवद्र्धन नै इलेक्ट्रो टेक आयोजना गर्नुको मुख्य उद्देश्य रहेको छ । इलेक्ट्रो टेकले नयाँ–नयाँ प्रविधि तथा प्रडक्टलाई कन्जुमरसँग चिनाउने अवसर पनि मिल्नेछ । एउटै छानाभित्र धेरै प्रडक्ट अवलोकन गर्ने अवसर पनि रहेकाले यो मेला कन्जुरमरका लागि विशेष अवसर हो ।

अहिले आर्थिक मन्दीको मारमा व्यवसायी छन् । यस्तो अवस्थामा इलेक्ट्रो टेक आयोजना हुँदा व्यवसायीहरु कसरी लाभान्वित हुन सक्छन् त ?
पछिल्लो समय आर्थिक मन्दीको मारमा उद्योगी व्यवसायीहरु परेको अवस्था छ । यस्तो विषम परिस्थितिमा आयोजना गरिएको इलेक्ट्रो टेकबाट व्यवसायीहरु थोरै भएपनि लाभान्वित हुने र व्यापारको प्रवद्र्धन हुनेमा हामी विश्वस्त छौं । इलेक्ट्रो टेकबाट आफ्नो प्रडक्ट चिनाउने र ब्राण्डिङ गर्ने अवसर व्यवसायीलाई मिल्नेछ, जसले गर्दा बजार बढाउन सकारात्मक योगदान पुग्ने विश्वास गर्न सकिन्छ । पछिल्लो समय बैंकको ब्याजदर केही खुकुलो भएकाले पनि अबका दिनहरुमा व्यापार व्यवसाय बढ्ने अपेक्षा गर्न सकिन्छ ।

मेला बिटुबी र बिटुसी कुन अवधारणाबाट आधारित छ ?
हामीले आयोजना गर्ने मेला बिटुबी (बिजनेस टु बिजनेस) र बिटुसी (बिजनेस टु कन्जमर) दुवै अवधारणामा आधारित छ । यहाँ सहभागी हुने कम्पनीहरुले डिलर नेटवर्क विस्तार गर्नेदेखि लिएर प्रत्यक्ष ग्राहकलाई आफ्नो प्रडक्ट चिनाउने र बजार बढाउने महत्पवूर्ण अवसर मिल्नेछ । ग्राहकले प्रडक्ट अवार्नेस पाउनुहुनेछ । व्यवसायीले आफ्नो लागि उपयुक्त प्रडक्टको डिलरसिप लिने र व्यवसाय बिस्तार गर्ने अवसर पाउनुहुनेछ ।

स्वदेशी उत्पादनलाई कत्तिको प्राथमिकता दिनुभएको छ ?
महासंघले आयोजना गर्ने मेलामा हामीले सधैं स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकतामा राखेका छौं । यस वर्ष पनि स्वदेशी प्रडक्टहरुको प्रशस्त सहभागिता छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ भन्ने महासंघको मान्यता छ । स्वदेशी उत्पादन बढाउन र प्रोत्साहन गर्न सरकारले पनि अग्रसरता लिन आवश्यक छ । स्वदेशी टेन्डरमा स्वदेशी प्रडक्ट प्रयोग गर्ने वातावरण बनाउन सकिन्छ । आयातीत कच्चा पदार्थमा लाग्ने ड्युटीमा पनि छुट दिनुपर्छ भनेर हामीले माग गरिरहेका छौं ।

अन्त्यमा के भन्नुहुन्छ ?
नेपाल विद्युतीय व्यवसायी महासंघ (फीन) को आयोजनामा हुन लागेको फीन इलेक्ट्रो टेक २०२४ कात्तिक २९ देखि मङ्सिर २ गतेसम्म ४ दिन चल्नेछ । फीन इलेक्ट्रो टेकमा सहभागी भएर अवलोकन गर्नुहुन सम्पूर्ण उपभोक्ता तथा व्यवसायी साथीहरुमा आग्रह गर्दछु । यहाँ हुन गइरहेको फीन इलेक्ट्रो टेकबाट ग्राहक तथा व्यवसायीले लाभ लिन सक्नुहुनेछ ।

lcci
You might also like

Comments are closed.