काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले आफ्नो तेस्रो महाधिवेशनको अवसरमा उद्योगी व्यवसायीहरुको विशाल उपस्थितिमा निजी क्षेत्रका धारणा सरकार समक्ष पु¥याएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारी लगायतका सरोकारवालालाई सहभागी गराएर महासंघले निजी क्षेत्रका धारणा सरकार समक्ष पु¥याएको हो ।
महासंघका संयोजक भगिरथ सापकोटाको अध्यक्षमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वर्तमान सरकारले निजी क्षेत्रलाई अत्यन्त महत्व दिएको बताउँदै आत्मनिर्भरमुखी अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको भूमीका महत्वपूर्ण हुने बताएका छन् । उनले कानुन र कर प्रणालीमा सुधार गरेर अर्थतन्त्रको विकास गर्ने कुरामा सरकार केन्द्रित रहेको समेत बताएका छन् ।
‘आउँदो आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको तयारी अघि बढेको छ, बजेटमार्फत पनि हामीले कानुन र कर प्रणालीमा आवश्यक सुधार गरेर जाने सोचिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि कहाँ कहाँ सुधार आवश्यक छ भन्ने कुरा निजी क्षेत्रको तर्फबाट आवस्, सरकार त्यसलाई सुनेर आवश्यक सहजीकरण गर्न तयार छ ।’
उनले निर्यात बढाउने, आयात क्रमशः प्रतिस्थापन गर्दै लैजाने र नेपालीभित्र पनि स्वदेशी उत्पादनको प्रयोगलाई बढावा दिने नीतिमा सरकार लागिरहेको बताए । यसैको फलस्वरुप विगतमा खस्किएको उद्यम व्यवसायको स्थिति अहिले क्रमशः सुधारोन्मुख बनिरहेको पनि प्रधानमन्त्रीको भनाइ छ ।
कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकारसमेत रहेका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकारले कुनै निश्चित घरानालाई हेरेर नीतिहरु निर्माण नगर्ने बताएका छन् । उनले वर्तमान सरकारले सबै उद्योगी व्यवसायीलाई समान व्यवहार गर्ने र गर्दै आएको बताएका हुन् । ‘वर्तमान सरकारले कुनै निश्चित व्यावसायिक घरानाको पक्षमा नीति निर्माण गर्दैन, राज्य नीति क्षेत्रमैत्री छ, यसका लागि सबैलाई समान अवसर र प्रतिस्पर्धाको मौका दिनुपर्छ भन्नेमा प्रष्ट छ’ पूर्व अर्थमन्त्री खतिवडाले भने, ‘यसमा तपाइहरु ढुक्क हुनुहोस्, सरकारले कुशलतापूर्वक उद्यम व्यवसाय गर्नेलाई तर्साउने धम्क्याउने काम गर्दैन ।’
उनले मुलुकको अर्थतन्त्रमा पूर्ववर्ती सरकारका कारण सिर्जित भएको जटिलता क्रमशः समाधान भइरहेको पनि बताएका छन् । उद्योगी व्यवसायीहरुलाई निर्धक्क भएर लगानी गर्न आग्रह गर्दै डा. खतिवडाले राज्यका कुनैपनि निकायमार्फत उद्यमी व्यवसायीलाई तर्साउने वा धम्क्याउने काम नहुने समेत प्रतिवद्धता जनाएका छन् । बरु, उद्योगी व्यवसायीलाई काम गर्न असजिलो भएको अवस्थामा राज्यले छिटो बाटोबाट कानुन तर्जुमा र संशोधन गरेर सहजीकरण गर्ने तर्फ अघि बढिरहेको उनले बताए ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लघु, तथा घरेलु उद्योगको विकास गर्ने नीतिलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । स्वदेशी उद्योगको विकास र संरक्षण नै वर्तमान सरकारको प्राथमिकतामा रहेको बताउँदै उनले सार्वजनिक निकायमा स्वदेशी उत्पादनको प्रयोग गर्न पत्राचार नै गरिएको समेत जानकारी दिए ।
वर्तमान सरकार बन्नुभन्दा अगाडी मुलुकको अर्थतन्त्र कोमामा पुगेको भएपनि अहिले क्रमशः भेन्टिलेटर, आईसीयू हुँदै जेनरल वार्डमा आइपुगेको उनको भनाइ छ । आर्थिक शिथिलताबाट मुलुकलाई बाहिर निकाल्नकै लागि सरकारले उद्योग व्यवसायसँग सम्बन्धित दर्जन कानुन संशोधन गरेको मन्त्री भण्डारीले स्पष्ट पारे ।
कार्यक्रममा सांसदसमेत रहेका उद्योग तथा व्यवसायी महासंघका पूर्व अध्यक्ष एल.पी. साँवा लिम्बुले नकारात्मक बन्दै गएको नेपाली समाजको मनोविज्ञानलाई सकारात्मकता प्रदान गर्ने दायित्व सरकार र नीति क्षेत्रकै भएको बताएका छन् । ५५ लाखलाई रोजगारी दिएको र मुलुकको कुल ग्राहस्थ उत्पादनमा ८१ प्रतिशत योगदान दिँदै आएको निजी क्षेत्रलाई सम्मान भावले हेर्न जरुरी रहेको उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा केही पनि हुँदैन, कुनै अवसर नै छैनन् भन्ने गलत भाष्य चिर्नुपर्ने बताएका छन् । अवसरहरुलाई छोपेर केही पनि हुँदैन भन्ने भाष्य जबरजस्ती स्थापित गर्न खोजिएको तर्फ असन्तुष्टि जनाउँदै अध्यक्ष ढकालले त्यस्ता भाष्यलाई निजी क्षेत्र र सरकार मिलेर चिर्नुपर्ने बताएका हुन् ।
‘नीतिगत स्थिरता भयो भने नेपालमा अवसर धेरै छन्, तर केही पनि छैन र केही पनि हुँदैन भन्ने खालको नकारात्मक भाष्य बनाउन लागियो भने त्यसले कसैलाई पनि राम्रो गर्दैन’ उनले भने, ‘यसबाट लगानीलाई हतोत्साही मात्रै बनाउँछ, लगानीलाई प्रोत्साहन गर्नु जरुरी छ ।’ उनले आगामी बजेटमार्फत सरकारले निर्यातमूलक उद्योगलाई प्राथमिता दिने विश्वास समेत व्यक्त गरेका छन् ।
Comments are closed.