फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालको आयोजनामा पुस २१ बाट काठमाडौंको भृकुटीमण्डपमा १६औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुँदैछ । प्रदर्शनी आयोजना गर्नुको उद्देश्यसहित विविध विषयमा केन्द्रित रहेर आर्थिक आवाजका लागि प्रेम पुन्थोकीले गरेको कुराकानीः
यहाँहरुले विगतका वर्षमा पनि प्रदर्शनीहरु गर्दै आउनु भएको थियो, नियमितता भन्दा यस पटक फरक के छ ?
हामीले २०५९ सालबाट प्रर्दशनी शुरु गरेका छौं । अहिले १६ औं संस्करणमा आइपुगेका हौंं । कोभिड महामारीका कारण ३ वर्ष प्रर्दशनी तथा कुनैपनि कार्यक्रम गर्न सकेनौं । विगतमा हामीले उपभोक्तालाई टार्गेट गरेर कार्यक्रम गर्दै आएका थियौं । उपभोक्ता आएर जुत्ता खरिद गरेर जानुहुन्थ्यो । अहिले यसमा परिमार्जन गरेका छौं । अहिले ग्राहकका साथै उद्योगी र उपभोक्ताबीचमा पुलको काम गर्ने व्यवसायीलाई टार्गेट गरेका छौं ।
त्यसो भए यो पटकको प्रर्दशनी थोक व्यापारी लक्षित हो ?
बिक्रीका हिसाबले त्यस्तो देखिए पनि यो प्रर्दशनीमा विविधता छ । हामीले यो प्रर्दशनीमा व्यापारीमा व्यवसायिक सीप विकास गराउने लक्ष्य पनि राखेका छौं । व्यवसायीले वर्षभरी कसरी बिक्री गर्ने ? कसरी जुत्ता उत्पादन हुन्छ ? लगायतका विभिन्न प्रविधिका वारेमा जानकारी लिन सक्नुहुन्छ । होलसेलर, डिलर तथा खुद्रा व्यापारी पनि आएर धेरै कुरा सिक्न सक्नुहुन्छ । आम उपभोक्तालाई पनि प्रर्दशनीमा आएर अवलोकन गर्न सक्नुहुन्छ । नेपाली जुत्तालाई माया गर्ने र नयाँ व्यवसाय शुरु गर्न चाहनेका लागि पनि प्रर्दशनी उत्कृष्ट स्थल बन्नसक्छ ।
यो प्रदर्शनीलाई अन्तराष्ट्रिय प्रर्दशनी भन्नुभएको छ, किन ?
यस अघिका प्रदर्शनी नेपाली उपभोक्ता लक्षित थिए । अगाडिका प्रर्दशनीका अनुभव र हामीले बिभिन्न माध्यमबाट गरेका सर्भेले उपभोत्ता मात्र होइन नेपाली व्यापारीमा पनि नेपाली जुत्ता प्रतिको धारणामा परिवर्तन गर्नुपर्ने हामीले देख्यौं । अर्को कुरा हाम्रा उत्पादन विदेशी उत्पादन भन्दा कम छैनन्, हाम्रा उत्पादनले अन्तराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्नु परेपछि हाम्रो स्तर अन्तराष्ट्रिय रुपमै मापन हुनुपर्छ भन्ने हाम्रो सिकाई रह्यो । सोही कुरालाई मध्य नजर राख्दै यो पटकको प्रर्दशनी बिटुबीको मोडलमा गर्ने योजना बनायौं । विगतमा नेपालमा रहेका उद्योगी व्यवसायीको मात्र सहभागिता रहन्थ्यो भने अहिले विदेशका उद्योगी पनि सहभागी हुनुहुन्छ । जसमा कच्चा पदार्थ, टेक्नोलोजी, मेसिनरीसँग जोडिएका अन्तराष्ट्रिय व्यवसायीका स्टल रहन्छन् । प्रदर्शनीमा विदेशी कच्चपदार्थ, मेशिनरी र प्रविधिसहितको ४० भन्दाबढी कम्पनीका प्रदर्शनी कक्ष र नेपाली फुटवेयरका ९० कम्पनी सहभागिता रहन्छ ।
अन्तर्राष्ट्रिय प्रर्दशनी भनेपछि विदेशी उत्पादनको पनि खरिद बिक्री हुने हो ?
होइन, प्रर्दशनीमा विदेशी व्यवसायीका स्टलमा प्रविधि र मेसिनरीको बारेमा जानकारी दिने काम हुन्छ । उहाँहरुले नेपाली उत्पादनको जानकारी लिँदै नेपाली व्यवसायीलाई आफ्ना प्रविधि र मेसिनरीका बारेमा जानकारी गराउने काम गर्नुहुन्छ । व्यापारीहरुले खरिद गर्ने भनेको नेपाली जुत्ता नै हो ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको स्थान कहाँ छ ?
भुकम्प र नाकावन्दी भन्दा अगाडिसम्म हामीले एक करोड जोर भन्दा बढि जुत्ता निर्यात गथ्र्यौं । निर्यात त्यही रफ्तारमा फस्टाउने हाम्रो अनुमान पनि थियो तर त्यो समयमा निर्यातमा असुविधा हुँदा हाम्रो बजार बिग्रियो, अहिले ५८ लाख जोर जुत्ता मात्र निर्यात गरिरहेका छौं । सरकारी नीति राम्रो छ तर कार्यान्वयनमा चुनौती छ । अझै पनि लागत उच्च छ, व्यवसायीले चर्को व्याजमा कर्जा लिएर उत्पादन गरेका छन् । यस क्षेत्रमा रु ३० अर्बभन्दा बढीको लगानी र रु चार अर्बभन्दा बढी बैंक कर्जा रहेको छ । उद्योगको लागि जमिनको अभाव छ । तालिमको अभावमा दक्ष जनशक्तिको कमी छ । पूर्वाधारको विकास हुन सकेको छैन । यी सबै कुरामा ध्यान दिन सके हामी ५ करोड जोर जुत्ता निर्यात गर्नसक्छौं ।
नेपाली जुत्ता कम्पनीको उत्पादन क्षमता र बजारको अवस्था के छ ?
नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगको संख्या एक हजार ५ सय छन् । नेपाली उद्योगले वार्षिक हाल साढे पाँच करोड जोर उत्पादन गदै आएकाछन् । क्षमताका हिसाबले हामी वार्षिक १६ करोड जोर भन्दा बढि जुत्ता उत्पादन गर्ने हाम्रो क्षमता छ । हाम्रो जनसंख्या र उपभोगको आधारमा माग लगभग १० करोड जोर छ । हामी आत्मनिर्भर बन्ने अवस्थामा पनि विदेशी उत्पादनको प्रभाव उच्च छ । चोरी पैठारी, न्यून विजकीकरण, दक्ष जनशक्तिको अभाव र अनियन्त्रित सस्तो जुत्ताको आयातले स्वदेशी उद्योगलाई प्रभाव पारेको छ ।
यो प्रर्दशनीमा हामीले राज्य तहका नीति निर्मातालाई बोलाएर हाम्रा समस्या समाधानका लागि पनि पहल गर्न अनुरोध गर्छौ । अन्तरक्रिया गर्छौ । राज्यबाट सोचेजस्तो सहयोग हामीले पाएका छैनौ । निकासी प्रवद्र्धन केन्द्रले भने केही सहयोग गरेको छ ।फुटवेयर प्रदर्शनीले हामी आत्मनिर्भरको बाटोमा छौं भन्ने सन्देश दिन्छ
Comments are closed.