थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्ने : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही कानुनहरू संशोधन गर्न जरुरी रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत वैशाखमा लगानी सम्मेलनको समयमा एकैपटक अध्यायदेशमार्फत् कानून संशोधन भएपनि तिनको नियमावली र कार्यविधि तयार नभएकाले कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् ।

हाल निजी क्षेत्रका अन्तःशुल्क, उत्पादित सामग्री खेर जाने र मूल्यलगायतका समस्याहरू रहेकाले यसको व्यावहारिक निर्णय गरेर समयमै सम्बोधन गर्नुपर्ने उनको धारणा छ । “सरकार र निजी क्षेत्रको सक्रियतामा लगानी सम्मेलन सम्पन्न भयो, कानुनहरू संशोधन भए तर तिनको नियमावली र कार्यविधि तयार नभएको अवस्था छ, त्यो चिजलाई सम्बोधन आवश्यक रहेकाले चाहे आन्तरिक होस् वा बाह्य लगानी भित्र्याउनका लागि होस् कतिपय कानुन अझै परिवर्तन गर्नुपर्नेछ” अध्यक्ष ढकालले भने ।

वर्तमान सरकाले निजी क्षेत्रलाई प्राथमिकता दिएर व्यवसायीलाई पनि राखेर छलफल गरिरहेको भन्दै उनले निजी क्षेत्रले यसलाई स्वागतका रुपमा लिएको बताए । महासंघको सुझावअनुसार उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्नुपर्छ भन्ने प्रस्ताव गरेकोमा आयोग गठन गरेर निजी क्षेत्रलाई पनि सहभागी गराएर निजी क्षेत्रलाई समेट्न खोजिएकोमा धन्यवाद व्यक्त गरे ।

उनले आयोगले दिने सुझावका लागि व्यवसायीलाई प्राथमिकताअनुसार लगानी प्रभावित गरेका कानुनका बारेमा सुझाव दिन पनि आह्वान गरे । ती समस्या समाधान गरेमा छोटो समयमा आर्थिक सुधार गर्न सकिने उनको भनाइ थियो ।

You might also like

Comments are closed.