काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा केही गर्नका लागि लगानीमैत्री वातावरण आवश्यक भएको उल्लेख गर्दै नीतिगत सुधारका लागि महासंघको पैरवी निरन्तर जारी रहने बताएका छन् ।
महासंघ अन्तर्गतका विभिन्न वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीका लागि सोमबार महासंघमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा बौल्दै उनले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको र ती सम्भावनालाई अवसरमा बदल्न सोही अनुरुपको वातावरण आवश्यक भएकोमा जोड दिएका छन् ।
“हामीकहाँ हरेक विषयलाई नकारात्मक दृष्टिकोणबाट हेर्ने अभ्यास छ, सकारात्मक दृष्टिकोणबाट हेर्दा स्वदेशमा पनि थुप्रै सम्भावनाहरु छन्, ती सम्भावनाबाटै हामीले स्वदेशमा रोजगार सिर्जना गर्न सक्छौं” उनले भने । सानो–सानो लगानीबाट पनि स्वदेशमा पूँजी निर्माण गर्न र त्यो पूँजी परिचालनबाट देशमा पूर्वाधारको विकास गर्न सकिन्छ भनेर महासंघको नेतृत्वमा रु १० अर्ब पूँजीको लिमिटेड कम्पनी स्थापना गरी काम भइरहेको समेत उनले जानकारी दिए । अध्यक्ष ढकालले महासंघको पछिल्लो विधान संशोधनले वस्तुगत संघबाट महासंघमा प्रतितिधित्व गर्नका लागि थप अवसर सिर्जना गरेको बताएका छन् ।
महासंघका वस्तुगत परिषद्तर्फका उपाध्यक्ष हेमराज ढकालले महासंघले वस्तुगत संघका क्षेत्रगत समस्यालाई सम्बोधन गर्न महासंघले निरन्तर पहल गरिरहेको बताए । महासंघका उद्योग उपाध्यक्ष सुरकृष्ण वैद्यले अर्थतन्त्र चलायमान बनाउन र देशमा रोजगारी वातावारण सिर्जनाको लागि महासंघले सकृय रुपमा भूमिका निर्वाह गरेको जनाएका छन् । यसैगरी महासंघका एशोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले देशको आर्थिक विकासका लागि अर्थतन्त्र चलायमान हुन आवश्यक रहेको उल्लेख गर्दै आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका लागि वस्तुगत संघहरु थप सकृय रहनुपर्ने बताए ।
सो अवसरमा अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा महासंघले तयार गरेका वस्तुगत संघका लागि कार्य सञ्चालन विधि र कार्यस्थलमा आधारित तालिम सञ्चालन निर्देशिकाको विमोचन समेत गरिएको छ । कार्यक्रममा विभिन्न वस्तुगत संघका सभापतिले आ–आफ्नो संघका समस्या तथा ती समस्या समाधानका लागि महासंघले गर्नुपर्ने पहलका बारेमा धारणा राखेका छन् ।
Comments are closed.