दुग्धजन्य उत्पादनलाई विश्व बजारमा पठाउनेतर्फ ध्यान दिन अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुग्धजन्य उत्पादनलाई गुणस्तरीय बनाएर विश्व बजारमा पठाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

नेपाल डेरी एसोसएसनद्वारा बानेश्वरको काठमाडौं बैंङ्कटमा मंगलबार आयोजित खीर प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले कतिपय डेरी उत्पादन विदेशबाट आयात गर्नु परेको र अब स्वदेशी उद्योगले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । कृषि प्रवद्र्धन गरेर ग्रामीण अर्थतन्त्र उकास्न सकिने उल्लेख गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रको आधार स्तम्भका रूपमा रहेको कृषि तथा पशुपालन व्यवसायमा लगानी बढाउनुपर्ने बताए ।

महासङ्घको अगुवाइमा सरकारले निजी क्षेत्र–मैत्री कानुन निर्माण गरेको जनाउँदै उनले कतिपय कानुन कार्यान्वयन हुन नसक्दा निजी क्षेत्रले खुलेर व्यवसाय गर्न नसकेको गुनासो गरे । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. पशुपति ढुङ्गानाले कृषि तथा पशुपालक किसानका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

एसोसिएनका अध्यक्ष प्रल्हाद दाहालले साना, मझौला र ठूला डेरी उद्योगका हकहितका बारेमा संस्थाले काम गर्दै आएको बताए । साउन १५ गते खीर खाने दिन देशभर करिब ८० लाख लिटर दूध खपत हुने र सो बापत करिब रु १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने एसोसिएसनको अनुमान छ ।

You might also like

Comments are closed.