काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको विकासशील मुलुक (एलडीसी) मा स्तरोन्नतिको विषयमा पुर्नमुल्याङ्कनसंगै समय सिमा कम्तिमा तीन बर्ष थप्नका लागि पहल गर्न सरकार समक्ष आग्रह गरेका छन् ।
योजना आयोगमा सोमबार आयोजित नेपालको विकासशील मुलुकमा स्तरोन्नति सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले समय थप गर्न पहल गर्नुपर्ने धारणा राखिन् । नेपालको एक वर्षपछि आगामी २०८३ मंसिर तदनुसार २०२६ नोभेम्बरमा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदैछ । नेपाल गरिब मुलुकको सूचिबाट हटेर स्तरोन्नती हुने खुशीको बिषय भएपनि स्तरोन्नतिपछि नेपालमा पर्ने प्रभावबारे विशेषगरी नीति निर्माता र योजनाविद्हरु संवेदनशील हुनुपर्ने उनी बताउँछन् ।
अध्यक्ष ढकालले बंगलादेशले पुर्नमुल्याङ्कन गर्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरिसकेको र त्यस्तै अवस्थामा रहेको नेपालमा पछिल्लो आन्दोलन पछि समय पर सार्नु भएको उल्लेख गर्दै यस विषयमा संवेदनशील हुनुपर्ने बताए । “यो संवेदनशील बिषयलाई सरकारले गम्भीरतापूर्वक लिनेछ भन्ने मैले विश्वास लिएको छु । अहिलेको अवस्थामा जबरजस्ती धनी हुने गरी निजी क्षेत्रको उत्पादन र रोजगारीमा गम्भीर असर पर्ने निर्णय नगर्न सरकारसंग आग्रह गर्दछु” उनले भने ।
वास्तविक रुपमा आम्दानी नबढि धनी हुन गैरहेको नेपालका सामु धेरै चुनौतिहरु रहेको र सन् २०२१ मा स्तरोन्नतिको निर्णय गर्दा नेपालको प्रतिव्यक्ति आय नपुगी स्तरोन्नतिको निर्णय भएको उनले स्मरण गराए । “अहिले आएर औसत आयको सिमा पुगेको छ । यसमा हामी खुशी हुनु पर्ने कारण किन पनि छैन भने अहिले पछिल्लो प्रदर्शन, व्यवसायीहरुको न्युन मनोबल, न्युन माग लगायतका कारणले अर्थतन्त्रमा जोखिम थपेको छ” उनले भने ।
यो निर्णयको मुख्य असर निजी क्षेत्रलाई पर्ने र विशेषगरी साना उद्यमी र महिलाहरुको रोजगारी गुम्ने खतरा उत्पन्न हुने अध्यक्ष ढकालको धारणा छ । उनी भन्छन्,“जसलाई असर पर्छ उसको कुरा सुन्नु आवश्यक हुन्छ, त्यसकारण निजी क्षेत्रको समस्यामा महासंघले बारम्बार आग्रह गरिरहेको हुँदा यसमा सरकार गम्भीर हुनेछ भन्ने विश्वास लिएको छु ।”
सो अवसरमा अध्यक्ष ढकालले साफ्टा अन्तर्गत उत्पत्तिको नियम सम्बन्धि हुने कडा शर्तले पार्ने प्रभावको मुल्याङ्कन विगतका अध्ययनहरुमा नगरिएको, तयारी पोशाकमा हुने दुई तहको उत्पादन चक्रको असरलाई सुक्ष्म रुपमा नहेरिएको पनि बताए । युरोपमा जिएसपी वा जिएसपी प्लस पाइन्छ भनेर सजिलै समस्यालाई नजरअन्दाज गरिने गरिएको र जिएसपीका लागि नेपालले धेरै मध्ये एक अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धी ८७ पारित गर्नुपर्ने उनको भनाइ छ ।
सो महासन्धी पारित भएमा नेपालको श्रम सम्बन्धमा नकारात्मक असर पर्ने औल्याउदै महासंघले यसबारेमा श्रम मन्त्रालय सहित अन्य सरोकारवाला सरकारी निकायलाई जानकारी गराई सकिएको पनि उनले जनाए ।




Comments are closed.