पोखरा । पोखरामा खाद्य बैंक (फुड बैंक) स्थापना भएको छ । कोरोना महामारीको विषम परिस्थितिमा अलपत्र बटुवाहरु, किनेर खान सक्ने अवस्था नभएका व्यक्तिहरु, खाद्य अभावले बिचल्लीमा परेका व्यक्ति वा परिवारलाई लक्षित गरी खाद्य बैंक स्थापना गरिएको हो ।
लायन्स क्लब अफ पोखरा अभियानको नेतृत्वमा सञ्चालनमा आएको खाद्य बैंकको मंगलबार उद्घाटन गरिएको छ । ‘कोही पनि खाना बिना मर्न नपरोस् भन्ने उद्देश्यका साथ खाद्य बैंक सञ्चालनमा ल्याएका हौं,’ क्लबका संस्थापक अध्यक्ष विनोद ढुंगानाले भने ।
खाद्य बैंकबाट मंगलबार पहिलो दिन १ सय १७ जनाले सेवा लिएका छन् । पोखराको चिप्लेढूगामा हरेकदिन बिहान ६ बजेदेखि ९ बजेसम्म संचालन गरिने यो अभियानमा सबैको सकारात्मक साथ र सहयोग रहेको ढुंगानाले बताए ।
खाद्य बैंकका लागि नवलपुर गैंडाकोट निवासी व्यवसायी पुष्पराज सापकोटाले ९० हजार रुपैयाँ बराबरको ५० बोरा चामल सहयोग गरेका छन् । बिग बजार शेल्स स्टोर चिप्लेढुंगाका संचालक रतन बहादुर कार्कीले ५ हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरे । लायन्स क्लब अफ पोखरा अभियानका सदस्यहरुबाट १ लाख २० हजार सहयोग भएको छ ।
खाद्य बैंकका लागि जोकोहीले पनि सहयोग गर्न सक्ने संयोजक मातृका पोख्रेलले बताए ।
Comments are closed.