जुत्ता चप्पल मेलामा भिड

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता चप्पल मेलामा अवलोकनकर्ताको आकर्षण देखिएको छ । स्थानीय चुनाव पछि राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको मतगणना भइरहेकाले पनि सो क्षेत्रमा सर्वसाधरणको उपस्थिति बाक्लो छ । मत गणनामा आउनेहरुले पनि चासोका साथ मेलाको अवलोकन गरिरहेको मेला संयोजक सुरज बन्जाडेले जानकारी दिए ।

‘मत गणना हेर्न आउने सर्वसाधरण र अन्य अवलोकनकर्ताको उपस्थिति मेलामा राम्रो छ,’ उनले भने, ‘सस्तो मूल्यमा जुत्ता चप्पल खरिद गर्न पाउँदा ग्राहकहरु खुसी भएको पाएका छौं ।‘

फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा वैशाख १५ बाट जारी मेला अन्तिम चरणमा पुगेको छ । मेला अब एक साता मात्रै बाँकी रहेकाले आगामी दिनमा अवलोकनकर्ता र ग्राहकको उपस्थित अझै बाक्लो हुनेमा आफूहरु विश्वस्त रहेको उनले बताए ।

jutta mela

ग्राहकको सुविधालाई ध्यानमा राख्दै मेलामा १० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ । प्रशिद्ध स्वदेशी ब्राण्डका जुत्ता चप्पल मेलामा प्रदर्शनी तथा बिक्रीका लागि राखिएकाले धेरैको रोजाईमा परेको एसोसिएसनका अध्यक्ष नानीराज घिमिरे बताउँछन् ।

आन्तरिक उत्पादनलाई प्रवर्दन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको एसोसिएसनले जनाएको छ मेलामा २२ कम्पनीका करिब सय वटा स्टल छन् ।

गोल्डस्टार, शिखर सुज, बिएफ डियर हिल, रोयल, रन सुज, सुल्याण्ड, कोशेली, क्रसरोड, केटिएम सुज, स्मार्ट, फस्टवाल्क, वान वल्र्ड, हाइलाइफ, सिल सुज, ह्याप्पी, बोस सुज, फस्ट स्टेप, बाम्बो सुज, बिएफ स्पोर्टस् लगायतका ब्राण्डका जुत्ता चप्पल मेलामा प्रदर्शनी एवं बिक्रीमा छन् ।

You might also like

Comments are closed.