काठमाडौं । ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ को भोलि अन्तिम शनिबार । माघ महिना लागेसँगै सुरु भएको मेला काठमाडौंको भृकुटी मण्डपस्थित सानो चौरमा जारी छ । मेलामा आफूले खोजेका हरेक ब्राण्डका जुत्ता चप्पलहरु रोजी–रोजी अनि छानी–छानी लिन सकिन्छ ।
मेलामा आइसकेका कुनै पनि ग्राहकले ब्राण्ड र मूल्यकै कारण फर्किनु नपर्ने आयोजक सबिन कार्की बताउँछन् । विशेषगरी जाडो मौषम र विवाह तथा शुभमुर्हतलाई लक्षित गरी आयोजना गरिएको मेलामा भोलि अन्तिम शनिबार भएका कारण भारी छुटको व्यवस्था गरिएको कार्कीले बताए ।
उनले भने, ‘हामीले ग्राहकको सुविधाका लागि सामानअनुसार १० देखि करिब ७० प्रतिशतसम्म छुटको व्यवस्था गरेका थियौं । भोलि मेलाको अन्तिम शनिबार भएकाले भारी छुट प्रदान गरेका छौं । कसैले पनि मौका नगुमाउनु होला ।’
जुत्ता चप्पल कम्पनीहरुको संयुक्त आयोजनामा सुरु भएको व्यापार मेलाप्रति ग्राहकहरुको आकर्षण बढ्दो छ । विभिन्न ब्राण्डका आकर्षक जुत्ता चप्पलहरु एकै स्थानमा पाउने भएपछि मेलाप्रति ग्राहकहरुको आकर्षण बढ्दै गएको आयोजक कार्कीले बताए ।
‘हामीले ग्राहकहरुको सुविधाका लागि हरेक ब्राण्डका जुत्ता चप्पल एकै छानामुनी पाउने व्यवस्था गरेका छौं । मेला आइसकेका ग्राहकले मूल्य र ब्राण्डका कारण फर्किनु पर्दैन,’ कार्कीले भने, ‘यहाँ हरेकका लागि सुहाउदो किसिमका जुत्ता चप्पल उपलब्ध छन् ।’
मेलामा करिब १ हजार प्रकारका जुत्ता चप्पलहरु उपलब्ध रहेको अर्का आयोजक गंगा श्रेष्ठले बताए । मेलामा हाइलाइफ, बाम्बो, वान वर्ल्ड, शिखर, फुट स्टेप, प्राइड, बोस र भेनसलगायतका ब्राण्डको सहभागिता रहेको श्रेष्ठले बताए । मेलाको समापन भने आइतबार हुनेछ ।
Comments are closed.