काठमाडौं । फोटोनले नयाँ इलेक्ट्रीक पीकअप ‘ई–टुनल्याण्ड’ सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो २०२५ को अवसरमा फोटोनको इलेक्ट्रीक पीकअप ‘ई–टुनल्याण्ड’ सार्वजनिक गरी बिक्री सुरू गरेको कम्पनीले जनाएको छ ।
टुनल्याण्डका पीकअप यसअघि नै नेपाली बजारमा उपलब्ध गराएको एमएडब्लु वृद्धिले यसको इलेक्ट्रीक अप्सन पनि ल्याएको हो । अहिले बजारमा रहेको रेडारा पीकअपलाई सिधा टक्कर दिनेगरी ल्याइएको ई–टुनल्याण्ड एउटा मात्रै भेरियन्टमा उपलब्ध छ । कम्पनीका अनुसार इलेक्ट्रीक टुनल्याण्डमा ८८ किलोवाट आवर क्षमताको सीएटीएलले उत्पादन गरेको ब्याट्री छ । यसको डब्लूएलटीपी रेन्ज ३५० किलोमिटर दाबी गरिएको छ ।
इलेक्ट्रीक टुनल्याण्डमा १३० किलोवाटको मोटर पाउन सकिन्छ । ९०० किलोग्रामसम्मको पेलोड क्षमता रहेको इलेक्ट्रीक टुनल्याण्ड टु ह्वील ड्राइभ अप्सनमा उपलब्ध छ । फोटोनका अनुसार इलेक्ट्रीक टुनल्याण्डको सबैभन्दा बलियो पक्ष यसमा रहेको ब्याट्रीमा दिइएको वारेन्टी हो । कम्पनीले यसमा ८ वर्ष वा ४ लाख किलोमिटरसम्मको वारेन्टी प्रदान गरेको छ ।
एमएडब्लु वृद्धिले यसको मोटरमा भने ५ वर्ष वा २ लाख किलोमिटर वारेन्टी दिएको छ । आजैबाट ग्राहकले बुकिङ गर्न सक्ने पीकअपको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नाडा अफरको रूपमा कम्पनीले १ लाख रुपैयाँ छुट प्रदान गर्दै ६८ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
फोटोनको आधिकारिक बिक्रेताले नेपालभर १२५ स्थानमा चार्जिङ नेटवर्क तयार गरेको छ । यसअघि नै इलेक्ट्रीक माइक्रोबस बजारमा ल्याएर सफलता पाएको कम्पनीले अब पीकअप पनि इलेक्ट्रीक ल्याउन लागेको हो ।
Comments are closed.