प्रधानमन्त्री देउवाद्वारा साक्षर गण्डकी प्रदेशस्तम्भ अनावरण

गण्डकी । प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर गण्डकी प्रदेश स्तम्भ अनावरण गरेका छन् । गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय संग्रहालय परिसरमा निर्मित स्तम्भ एक समारोहबीच प्रधानमन्त्री देउवाले आइतबार अनावरण गरेका हुन् ।

गत भदौ ३० मा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकाले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो । घोषणाका लागि लक्षित समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुनुपर्ने प्रावधान छ । प्रदेश सरकारको अघिल्लो नीति तथा कार्यक्रममा दुई वर्षभित्र घोषणा गर्ने बताइएको थियो ।

तथ्याङ्कअनुसार नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन् । सबैभन्दा कम लमजुङमा ९५.५ प्रतिशतमात्रै नागरिक साक्षर भएको तथ्यांक छ । मुस्ताङ ९६.३५, स्याङ्जा ९६.१६, कास्की ९६, तनहुँ ९६.४, बागलुङ ९६.५७, मनाङ ९६.९, गोरखा ९७.२, म्याग्दी ९६.२७ र पर्वतका ९६.९३ प्रतिशत नागरिक साक्षर भइसकेका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

जिल्लागतरूपमा सबै जिल्ला साक्षर घोषणा भइसकेका छन् । मुस्ताङ सबैभन्दा पहिलो साक्षर जिल्ला घोषणा भएको हो । विसं २०७१ असार ३१ मा मुस्ताङ घोषणा भएको हो भने सबैभन्दा अन्तिममा पर्वत विसं २०७४ माघ १८ मा घोषणा भएको थियो । प्रधानमन्त्री देउवालाई पोखरा विमानस्थलमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वागत गरेका थिए ।

You might also like

Comments are closed.