जनक श्रेष्ठ, लमजुङ । समुन्द्री सतहदेखि २ हजार १ सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण दक्षिण एशियाकै नमूना घलेगाउँ यतिबेला पर्यटकको रोजाइमा पर्न थालेको छ । क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आन्तरिक पर्यटकले यहाँ सञ्चालन गरेका घरबास (होमस्टे) भरिभराउ हुन थालेका छन् ।
गत वर्ष यस समयमा कोरोना सङ्क्रमणको जोखिमका कारण सुनसान रहेको घलेगाउँ यस वर्ष भने पर्यटकको आगमन दैनिक बढ्दो छ । यहाँ दैनिक १ सय देखि १ सय ५० पर्यटक आउने गरेको र शुक्रबार, शनिबार तथा बिदाका समयमा ३ सय देखि ४ सय आन्तरिक पर्यटक आउने गरेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमलबहादुर विकले बताए ।
गत मङ्सिरमा पर्यटक नआउँदा चिन्तित भए पनि यस वर्ष पर्यटक वृद्धि हुँदा घरबास सञ्चालकलाई पर्यटक सत्कारमा फुर्सद नभएको उनको भनाइ छ । घरबास सञ्चालक दीर्घराज घलेले भने, “हामी गत वर्ष पर्यटक नहुँदा कसरी परिवारको गुजारा चलाउने भन्ने चिन्तामा थियौँ, यस वर्ष पनि के हुन्छ भन्दै सोचिरहे पनि यतिबेला पर्यटकको आगमनले हौसला मिलेको छ ।”
पर्यटकले गाउँ नै भरिभराउ भइरहेको घलेगाउँका घरबास सञ्चालकको भनाइ छ । प्रकृतिले सुन्दर रहेको घलेगाउँमा विभिन्न हिमाल, संस्कार संस्कृति, गुरुङ समुदायको वेषभूषा, जैविक परिकार, एतिहासिकस्थललगायत ठाउँ हेर्न तथा अध्ययनका लागिसमेत पर्यटक आउने गरेको समितिका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।
यहाँ नेपालकै उत्कृष्टमध्ये एक भएकाले पर्यटकको आकर्षणको केन्द्र बनिरहेको उनको भनाइ छ । मङ्सिरमा अधिकांश स्थानीय खेतीपाती थन्काउनमै ब्यस्त भइरहे पनि घलेगाउँका स्थानीय भने पर्यटक स्वागत सत्कारमा व्यस्त हुँदा आम्दानीसमेत राम्रो गर्दै आइरहेका छन् ।
विसं २०५६ देखि सुरु भएको ग्रामीण पर्यटन प्रवद्र्धनका प्रयासबाट १२ घरबाट अघि बढेको घरबास यतिबेला यहाँ ३७ घरमा सञ्चालनमा छ । घलेगाउँमा पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकासका लागि हालसम्म करोडौँ रुपैयाँ घलेगाउँवासी र सरकारले खर्च गरिसकेका छन् ।
यहाँ प्रतिपर्यटक एक हजार १ सय मा खान तथा बस्न र सुत्ने व्यवस्था रहेको बताइएको छ । घरबासमा आएका पर्यटकलाई सत्कार सँगसँगै आफ्ना कलासंस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायत लोपोन्मुख सांस्कृति नृत्यसमेत प्रस्तुत हुने गर्दछ । यहाँ आउने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाइएका जैविक चामल, मकै, कोदो, भटमास, रायाको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासु लगायत परिकार खुवाउने गर्दछन् ।
घलेगाउँबाट ६९८६ मिटर उचाइको लमजुङ हिमाल, ७९३५ मिटर उचाइमा रहेको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल(चौथो), ६९६३ मिटर उचाइमा रहेको माछापुच्छ्रे हिमाल, ८१६३ मिटर उचाइमा रहेको मनास्लु हिमाल, ७८९३ मि उचाइमा रहेको हिमालचुली, ७८३५ मिटर उचाइमा रहेको ङादीचुली (डा हर्क हिमाल) र ६६७२ मिटर उचाइमा रहेको बुद्ध हिमाल देख्न सकिन्छ ।
सूर्योदयको मनोरम दृश्य, सूर्यास्तको दृष्यावलोकन, गुरुङ समुदायको परम्परागत गुरुङ घर, घले राजाको शालिक, गुरुङ सङ्ग्रहालय, क्वोइवो धीं,सात कुवा, चिया बगान, भिर मौरी, वनझाङ्ग्री छहरालगायत स्थानसमेत घलेगाउँमा देख्न सकिन्छ । घलेगाउँसम्म पुग्ने सडक पूर्वाधारकोसमेत विकास भइरहेको छ ।
Comments are closed.