काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ । वि.सं. २०६३ मा स्थापना भएको यस बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा अक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरुमा मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ ।
साथै, हालैमात्र बैंककोे निक्षेप ५ खर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । पुँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरुमध्ये पहिलो नम्बरमा रहेको छ । ग्राहकमैत्री सेवाहरु, साना तथा मझौला व्यवसायमा जोड, प्रविधीमैत्री सेवाहरुका साथै उत्तरदायी बैंकिङको अभ्यास गर्दै बैंकले आम नागरिकको विश्वास जित्दै आएको छ ।
यस बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका ११ सय भन्दा बढी सेवा केन्द्रहरू छन् । जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।
नेपाली नागरिकलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
Comments are closed.