काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनी बीच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिटमार्फत सहज रुपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् । यसरी ग्लोबल रेमिटमार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालय तथा नेपालभरी रहेको आइएमई लिमिटेड र जीएमई रेमिटको ५० हजार भन्दा बढी एजेन्टबाट भुक्तानी लिन सकिनेछ ।
साथै, यसै सम्झौता अनुसार कतारमा रहेका नेपालीले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिटेन्स पठाउन सकिनेछ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका ११ सय भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय रहेका छन् ।
बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
Comments are closed.