सुरक्षित डिजिटल बैंकिङ सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । २०६३ साल पुस १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

वार्षिकोत्सवका अवसरमा बैंकको कर्पोरेट कार्यालय, कमलादीमा बिहीबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए ।

“अहिलेको बैंकिङ आवश्यकतालाई मध्यनजर राख्दै हामीले हाम्रा सेवालाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक छ । तर, डिजिटल तथा प्रविधिमैत्री गर्दा सुरक्षाको पनि त्यतिकै ख्याल राख्न जरुरी हुन्छ । सुरक्षालाई न्यूनतम शर्त बनाएर डिजिटल प्रविधिलाई अंगिकार गर्ने हो,” उनले भने ।

बैंकले आफ्नो स्थापनाको १८ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकमा अब्बल बनाउन सफल रहेको र नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीतिको परिपालन गर्दै जाँदा बैंक अहिलेको अवस्थामा आइपुगेको बताउँदै अध्यक्ष ढकालले बताए । कर्मचारीको मेहनत र लगनशिलताका कारण बैंक अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट पु¥याउनु भएको विशेष योगदानप्रति सबै कर्मचारीलाई धन्यवाद दिए ।

यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आफ्नो सेवालाई नविनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको जनाए । रेग्मीले बैंकले आगागी वर्षमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

१६६ कर्मचारीलाई सम्मान

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा गरेका १६६ कर्मचारीलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच बैंकका अध्यक्ष ढकालले १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीलाई सम्मान गरेका छन् ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सय भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

lcci
You might also like

Comments are closed.