काठमाडौं । निजी क्षेत्रको अग्रणी ग्लोबल आइएमई बैंक लिमिटेडले आज (पुस १७) स्थापनाको १७औं वार्षिकोत्सव मनाउँदैछ । स्थापनाको छोटो समयमा यो बैंकले लोभलाग्दो प्रगति गरेको छ । विशेष गरी मर्जर प्रक्रियालाई सही व्यवस्थापन गर्दै बैंकले आफूलाई अब्बल बनाउन सफल छ ।१७ वर्षको यो यात्रामा निरन्तर साथ, सहयोग र शुभेच्छा प्रदान गर्ने सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी, नियमनकारी निकाय, कर्मचारी तथा शुभेच्छुकहरुमा बैंकले कृतज्ञता ज्ञापन गरेको छ । आगामी दिनहरुमा पनि सबैको साथले अझ उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने बैंकले प्रतिबद्धता जनाएको छ ।
मर्जर व्यवस्थापनमा अग्रणी बैंक
वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी कर तिर्नेमा ग्लोबल आइएमई बैंक लिमिटेड अगाडि उभिएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ५ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ कर तिरेको छ । वर्षभरी विभिन्न शीर्षकमा बैंकले तिरेको करलाई यहाँ जोडिएको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब १७ करोड रुपैयाँ कर तिरेको थियो । बैंकले गएको आर्थिक वर्ष ७ अर्ब २५ करोड रूपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ४६ दशमलव २६ प्रतिशतले बढी हो ।
ग्लोबल आइएमई बैंकले हरेक मर्जरको प्रक्रिया र क्रमलाई सरल र सहज व्यवस्थापन गर्दै आफ्नो कार्यप्रणाली उत्कृष्ट बनाउँदै आशातीत सफलता हासिल गर्न सक्षम हुँदै गएको छ । वाणिज्य बैंकहरुमा सर्वाधिक कर तिर्नेमा यो बैैंक पर्नु पनि त्यसैको ताजा उदाहरण मान्न सकिन्छ ।
मर्जरपछि अधिकांश बैंकहरुले आशा गरेअनुसारको सफलता पाउन नसकिरहेको सन्दर्भमा यो बैंकले मर्जरलाई अवसरका रुपमा बदल्न सफल भएको छ । त्यसैले बैंक तथा वित्तीय संस्थालाई आपसमा मिलाएर सफलता पछ्याउन सक्ने बैंकका रुपमा ग्लोबल आइएमई परिचित बनेको छ । ग्लोबलले गत वर्ष पुसमा बैंक अफ काठमाण्डूसँग एकापसमा मिलेर कारोबार सुरु गर्दै सबैभन्दा ठूलो बैंक बन्न सफल भयो । त्यस अगाडि २०७६ मा अर्को कमर्सियल बैंक जनता बैंकसँग पनि बिग मर्जर गर्दै ग्लोबलले उदाहरण पेस गरेको थियो ।
राष्ट्रबैंकको नीतिलाई अबलम्बन गर्दै नेपालको बैंकिङ क्षेत्रमा सधैं उदाहरण पेश गर्दै लिडिङ बैंकको रुपमा ग्लोबल स्थापित हुन सफल भएको छ । सञ्चालक समिति तथा व्यवस्थापनले सहजरुपमा मर्जरलाई व्यवस्थापन गर्दै अधिकांश वित्तीय सूचकहरुमा प्रतिस्पर्धी बैंकको तुलनामा आफूलाई बढी प्रभावकारी र आशातीत परिणामा हासिल गर्ने बैंकको सूचिमा उभ्यान सफल भएको छ । नेपालको बैंकिङ इतिहासमा नै मर्जरलाई ऐतिहासिक सफलता दिलाउन बैंक सफल भएको मान्न सकिन्छ । मर्जरसँगै कर्मचारी व्यवस्थापन र सुशासनमा बैंक अग्रणी रहेको देखिन्छ ।
२१ वटा बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्विजिसनबाट बनेको यो बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ठूला, सबल र उत्कृष्ट बैंकिङ प्रणाली विकास गर्ने योजना कार्यान्वयनमा पनि सधैं अग्रस्थानमा देखिन्छ । मर्जर भएका २१ वटा वित्तीय संस्थाहरु मध्ये ५ वटा ‘क’ वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका छन् ।
सफल व्यवसायीका रुपमा परिचित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल बैंकको सञ्चालक समितिका अध्यक्षको जिम्मेवारीमा छन् । उनको नेतृत्वमा बैंकमा कुशल र अनुभवी सञ्चालकहरुको टिम छ । बैंकको व्यवस्थापन टिमलाई प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले लिड गरिरहेका छन् । उनी पनि ३ दशक भन्दा बढी बैंकिङ क्षेत्रमा अनुभवी बैंकर हुन् । ‘सबैका लागि बैंक’ नारालाई आत्मसाथ गरेको यो बैंकले स्थापनाको छोटो समयमै आफूलाई एक अग्रणी, सबल र विश्वसनीय बैंकको रुपमा स्थापित गरिसकेको छ ।
ग्लोबल आइएमई बैंकको कूल पुँजी तथा चुक्ता पुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक हो । हाल यस बैंकको कूल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ । चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ । ग्लोबल आइएमईका मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३ सय ५९ शाखा कार्यालय, ३ सय ६२ एटिएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर छन् ।
मुलुक भित्र मात्र नभई मुलुक बाहिर पनि यस बैंकले वैदेशिक प्रतिनिधि कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग साझेदारी गर्दै आफ्ना ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकको बेलायतको लण्डन, भारतको नयाँ दिल्ली र अष्ट्रेलियाको सिड्नीमा गरी ३ वटा वैदेशिक सम्पर्क कार्यालयहरु छन् । विदेशमा समेत कार्यालय स्थापना गरी सेवा प्रदान हुँदा ती देशमा रहेका नेपाली कामदारहरु प्रत्यक्ष लाभान्वित भएका छन् । नेपाली बैंकले विदेशमा समेत शाखा विस्तार गरी सेवा प्रदान गर्न सक्षम छन् भन्ने उदाहरण पनि प्रस्तुत भएको छ ।
बैंकले एक हजार एक सय भन्दा बढी सेवा केन्द्रबाट आधुनिक बैंकिङ सेवा प्रदान गर्दैै आइरहेको छ । पछिल्लो तथ्यांक अनुसार बैंकमा ४० लाख भन्दा बढी ग्राहकहरू आबद्ध छन् । बैंकमा ४ हजार बढी कर्मचारी आबद्ध छन् ।
ग्राहकको आवश्यकता र चाहनालाई केन्द्रमा राखेर गुणस्तरीय सेवा, सुविधा, नयाँ व्यापार व्यवसाय गर्न खोज्नेलाई समाधानको उपायसहित प्रविधिमा आधारित सेवा सञ्चालन गरेर एउटा सफल र अग्रणी बैंकका रुपमा उभ्याउन सबैका लागि बैंक भन्ने नारा अघि सारेको बताउँछन् अध्यक्ष चन्द्रप्रसाद ढकाल । यही नारालाई साकार पार्न यसका सञ्चालक, निर्देशक, प्रवद्र्धक, व्यवस्थापक, कर्मचारी र सम्बद्ध पक्षले समाजका सबै क्षेत्र र वर्गका ग्राहकलाई उच्चस्तरीय सेवा तथा सुविधा दिने प्रतिवद्धता जनाउँदै आएका छन् । ‘वित्तीय क्षेत्रमा नयाँ अवसर ल्याई ग्राहक, शेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सरोकार राख्ने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्यसम्पादन गर्दै आइरहेको छ,’ अध्यक्ष ढकालले भने ।
यो बैंक प्रविधिमा पनि अग्रणी बन्दै आइरहेको छ । ‘प्रविधिमैत्री र आधुनिक बैंकिङ सेवामा हामी सधैं प्रतिबद्ध र सक्रिय छौं,’ प्रमुख कार्यकारी अधिकृत बज्राचार्य भन्छन्, ‘ग्लोबल आइएमई बैंक सेवाग्राहीको सेवामा मात्रै होइन नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशन परिपालनामा सधैँ पहिलो हुने गरेको छ ।’
Comments are closed.