गोदावरी फूलको प्रदर्शनी असोज २९ गतेदेखि सुरु

काठमाडौं ।  फ्लोरिकल्चर एसोसिएसन नेपाल (FAN) ले “गोदावरी फूलको गोदावरी, सजाऔं घर आँगन वरिपरि” भन्ने नारासहित २५औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु हुने भएको छ ।

प्रदर्शनी  असोज २९ गतेदेखि कार्तिक १ गतेसम्म ललितपुरको जावलाखेल खेलमैदानमा सुरु हुने भएको हो । नेपाली गार्डेनरको मेहनत र जाँगरले पुष्प व्यवसायलाई दिन दुगुना रात चौगुना प्रगतिको दिशामा पुर्‍याइरहेको यस अवधिमा आयोजित यो प्रदर्शनी नेपालकै एक मात्र बृहत गोदावरी पुष्प प्रदर्शनी हो । पाँच दिनसम्म चल्ने यस मेलामा ५० व्यावसायिक, १ प्लान्ट क्लिनिक, २ अफिसियल, २ प्रतियोगितात्मक र २ फोटो–सेल्फी गरी ६० वटा प्रदर्शनी कक्ष रहनेछन् ।

प्रदर्शनीमा गोदावरीका विभिन्न पाँच विधा—मिनियचर, स्पाइडर, इन्कर्भिङ, रिफ्लेक्स र फूल सजावटमा प्रतिस्पर्धा गराइनेछ, जहाँ उत्कृष्ट सहभागीलाई शिल्ड, नगद र प्रमाणपत्र प्रदान गरिनेछ । यस मेलामा सयपत्री, मखमली, आलंकारिक बोटसहित १५० भन्दा बढी जातका फूल विरुवाहरू प्रदर्शित र बिक्री वितरण गरिनेछन्, साथै विरुवामा लाग्ने रोग, किराको नियन्त्रण तथा स्वास्थ्य परीक्षणका लागि विशेषज्ञहरूको रोहवरमा प्लान्ट क्लिनिक स्टल पनि सञ्चालन हुनेछ ।

नेपालमा वि.सं. २०४९ सालदेखि सुरु भएको पुष्प व्यवसायमा हाल रु. ८ अर्ब ८३ करोडभन्दा बढी लगानी भइसकेको छ र ५१ हजार ५०० भन्दा बढी व्यक्तिहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न छन् । पछिल्लो आर्थिक वर्ष २०७९/८० मा पुष्प व्यवसायको वार्षिक कारोबार रु. ३ अर्ब ६८ करोड पुगेको छ ।  यस अवधिमा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात २०९.९९% ले वृद्धि भई रु. ७० लाख ६३ हजार पुगेको छ भने आयात ५४.३७% ले घटेको छ । भारत, चीन, थाइल्यान्ड, जापान, अष्ट्रेलिया लगायत देशहरूमा टिस्युकल्चरबाट बनेका मूलफूल र कट फ्लावरहरू निर्यात भएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग र पुष्प व्यवसाय प्रवर्द्धन केन्द्रको सहयोगमा आयोजना हुने यस प्रदर्शनीबाट करिब ७० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र एक करोड बीस लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । FAN का पदाधिकारीहरूले पत्रकार सम्मेलनमार्फत पुष्प व्यवसायलाई स्वच्छ वातावरण, आर्थिक समृद्धि र आत्मनिर्भर नेपाल निर्माणको माध्यमका रूपमा विकास गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका छन् र गोदावरी फूलको प्रदर्शनी–२०२३ लाई सफल बनाउन सम्पूर्णको सहभागिताका लागि आह्वान गरेका छन् ।

You might also like

Comments are closed.