सुनको मूल्य तोलाको १ लाख रुपैयाँ नाघ्यो

काठमाडौं । सुनचाँदी बजारमा आइतबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख ३ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसको मूल्य शुक्रबार प्रतितोला ९९ हजार रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार ३ सय ६५ पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय ४७ डलर आसपास कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.