२० लाख रुपैयाँ राशीको गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड घोषणा

पानी क्षेत्रमा योगदान गर्ने व्यक्ति, संस्था वा समूहलाई प्रदान गरिने

काठमाडौं । रोटरी इन्टरनेशनलअन्तर्गत रोटरी डिष्ट्रिक्ट ३२९२ ले २० लाख रुपैयाँ राशीको गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड प्रदान गर्ने घोषणा गरेको छ। यस वर्षको अवार्ड पानी, सरसफाइ तथा स्वच्छता (WASH – Water, Sanitation and Hygiene) क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति, संस्था वा समूहलाई प्रदान गरिनेछ ।

संसारकै सबैभन्दा पुरानो सेवामूलक संस्था रोटरी इन्टरनेशनल सन् १९०५ मा अमेरिकाको सिकागोबाट स्थापना भएको हो । हाल विश्वका २२१ मुलुकमा ४६ हजारभन्दा बढी रोटरी क्लबमार्फत १२ लाखभन्दा बढी सदस्यहरू सक्रिय छन्। नेपालमा रोटरीको सुरुवात सन् १९५९ मा भएको हो भने सन् २००८ जुलाईदेखि नेपालमा छुट्टै रोटरी डिष्ट्रिक्ट ३२९२ स्थापना भई हाल १६३ वटा रोटरी क्लबहरू सक्रिय छन् ।

रोटरी डिष्ट्रिक्ट ३२९२ ले सन् २०१० मा गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड स्थापना गर्दै देश तथा समाजका लागि आफ्नो पेशा वा व्यवसायमार्फत उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति, संस्था वा समूहलाई सम्मान गर्दै आएको छ । सुरुमा १० लाख रुपैयाँ राशी रहेको यस अवार्डलाई सन् २०२४ देखि वृद्धि गरी २० लाख रुपैयाँ पुर्‍याइएको हो ।

अवार्डको उद्देश्य रोटरीको आचारसंहिताको मर्मअनुसार निस्वार्थ र समर्पित भावनाका साथ पेशागत क्षेत्रमा उत्कृष्ट योगदान गर्नेहरूलाई सम्मान गर्दै भविष्यमा थप प्रेरणा प्रदान गर्नु रहेको आयोजकले जनाएको छ । नेपालका कुनै पनि नागरिक, नागरिकहरूको समूह वा नेपालको कानुनअनुसार दर्ता भएका संस्थाहरूले यस अवार्डका लागि आवेदन दिन सक्नेछन् । पेशा, व्यवसाय वा उद्योगमा निरन्तर उत्कृष्टता, उच्च नैतिकता, नवप्रवर्तनशीलता, दीर्घकालीन प्रतिबद्धता, समुदायको जीवनस्तर उकास्न योगदान तथा कर्तव्यको सीमाभन्दा माथि उठेर सेवा गरेको कार्यका आधारमा छनोट गरिनेछ ।

अवार्डका लागि रोटरी डिष्ट्रिक्ट कार्यालय, थापाथली, देशभरका १६३ रोटरी क्लबहरूबाट वा अनलाइनमार्फत  https://districtgrants.rotarydistrict3292.org.np/gopal-kamala-rajbhandari-rotary-award-for-wash-water-and-sanitation/ आवेदन फारम प्राप्त र बुझाउन सकिनेछ।

आवेदन बुझाउने अन्तिम मिति २०८२ माघ २२ गते (५ फेब्रुअरी २०२६) रहेको छ । अवार्ड यही फागुन ७ देखि ९ गते (फेब्रुअरी १९–२१, २०२६) पोखरामा आयोजना हुने १८औँ रोटरी डिष्ट्रिक्ट कन्फरेन्सका अवसरमा प्रदान गरिनेछ।

You might also like

Comments are closed.