‘पर्यटनमा राज्यको ध्यान कम पुग्यो’ (अन्तर्वार्ता)

गोपी भट्टराई, पूर्व अध्यक्ष, पोखरा टुरिजम काउन्सिल

युवा पर्यटन व्यवसायी गोपी भट्टराई पोखरा टुरिजम काउन्सिलका पूर्व अध्यक्ष हुन् । रेवान पोखराका पूर्व अध्यक्षसमेत रहेका उनी रेवान केन्द्रको उपाध्यक्ष भएरसमेत काम गरिसकेका छन् । पर्यटन क्षेत्रमा निरन्तर सक्रिय भट्टराईसँग पर्यटनसँग सम्बन्धित समसामयिक विषयमा आर्थिक आवाजले गरेको संक्षिप्त कुराकानीः

पर्यटन व्यवसायको अवस्था कस्तो छ ?

अहिले पर्यटन क्षेत्रको अवस्था नै पर्ख र हेरको अवस्थामा छ । कोरोना महामारीभन्दा अगाडि ‘भिजिट २०२०’ को शुरुआत गरेको थियो, त्यो अनुसार पर्यटनमा राज्य र नीजि क्षेत्रले लगानी गर्दै पनि आएका थिए । अब केही गर्न सकिन्छ है भन्ने आशा पलाएको थियो । कोरोना महामारीले एकदमै असर पु¥यायो, व्यवसाय जसोतसो बचाएर अगाडि जाने काम भयो । सरकारका नीति पनि उत्साहप्रद नै थिए तर ती नीतिले पनि खासै काम गरेनन् । यस्तो अवस्था पनि आयो कि जहिले सहज अवस्था होला त्यति बेला व्यवसाय गरौंला भनेर व्यवसाय बन्द गरेको र सञ्चालनमा रहेका व्यवसाय पनि जसोतसो चलेको मात्रै अवस्था थियो । अहिले व्यवसाय निरन्तरता दिने, छाड्ने र नयाँ व्यवसाय शुरू गर्ने उस्तै उस्तै क्रममा छ । व्यवसाय कस्तो हुन्छ भन्ने कुराको अनुमान नै गर्न नसकिने अवस्था छ ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै उत्साह देखिन्थ्यो, प्रभाव कस्तो रह्यो ?

विमानस्थल सञ्चालनमा आउने लगायतले व्यवसायीमा एकखालको हौसला त थियो । आन्तरिक पर्यटकको आगमन बढ्नुका साथै बाह्य पर्यटक समेत आउने क्रम बढेकै थियो । धेरैलाई लागेको थियो, अब पोखराको हवाई कनेक्स्न अन्तराष्ट्रसँग जोडिन्छ, पर्यटक सिधै पोखरा आउँछन् । पोखराका उत्पादन विदेशमा पुग्छन्, यहाँका व्यवसायले लाभ उठाउन सक्छन् भन्ने आशा थियो तर त्यस्तो देखिएन । अर्को पोखरा घुम्न आउने सबै पर्यटक प्लेन चढ्ने हैसियतका र रुचीका हुन्छन् भन्ने हुन्न । यस्तो अवस्थामा आउने भनेको सडक मार्गबाट हो तर सडक मार्ग नराम्ररी ध्वस्त भएको छ । सडक निर्माण, विस्तार, मर्मत हुनु राम्रो हो तर सरकारले शिघ्र योजना सम्पन्न गर्न चासो देखाएन । सडक कहिले निर्माण हुने हो भन्ने कुराको निश्चित भएन । यसको मापदण्ड नै भएन ।

पर्यटन प्रवर्द्धनमा सरकारको पहल कस्तो छ ?

व्यवसायीले बैंकको चर्को ब्याजमा कर्जा लिएरै भएपनि व्यवसाय चलाएका छन् तर सरकारका आफ्नै स्पष्ट योजना छैनन् । अहिले हामी बजेटमै हेरियो भने पनि यो गर्छौं भनेर स्पष्ट खाका ल्याएको देखिन्न । मात्रै नारामा सिमित रहेको देखिन्छ । यस्तो अवस्थामा पर्यटन पूर्वाधारको विकास देखि प्रचार प्रसारमा जोड दिनुपर्ने हो । सुस्ताएको पर्यटन फस्टाउनको लागि राज्यस्तरबाट भएका प्रचारप्रसारले महत्व राख्छ । हामी निजी क्षेत्रले त गर्दै आएका छौं । सरकारलाई हामीले अभिभावक मानेका छौं, धेरै सुझाव पनि दिँदै आएको हो । निजी क्षेत्रले पर्यटनको पूर्वाधारमा विस्तार गर्न सहयोग गरेकै छ, लगानी बढिरहेको छ तर राज्यको संयन्त्रले काम नगर्दा सोंचे अनुरुप उपलब्धी हासिल गर्न सकिरहेको अवस्था छैन । सबैकुराबाट आशा मार्नभन्दा पनि केही संभावनाहरू छन्, राज्यले कनेक्टिभिटीमा जोड दिनुप¥यो । विदेशमा रहेका हाम्रा संयन्त्रले प्रचार प्रसारमा भूमिका खेलेको अवस्थामा केही सुधारको अपेक्षा गर्न सकिन्छ ।

पोखरामा पर्यटकले बसाई लम्ब्याउने क्रम पनि घट्दै गएको सुनिन्छ नि ?

पोखरामा आउन पर्यटक साँच्चै आतुर छन् । म भ्रखरै अमेरिकाबाट फर्किएको छु, धेरै जना अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा झर्न उत्साहित छन् । यसमा पर्यटकको चाहना भएरमात्र भएन, न त हामी निजी क्षेत्रले चाहेर मात्र हुन्छ । यसको लागि सरकारस्तरको पहल हुनुपर्यो । सरकारको नीति प्रभावकारी हुुनुपर्यो । अहिले तत्कालको लागि भारतका मुख्य शहर र चीनसँग पोखरा अन्तर्राष्ट्रिय बिमानस्थललाई जोड्न सके मात्रै पनि धेरै उपलब्धी हुन्छ । अहिले पर्यटक काठमाडौं उत्रिइसके पछि त्याहाँको उकुसमुकुसबाट बाहिर आउन चाहान्छन् । तर २०० किलोमिटर काठमाडौं–पोखराको बाटोमा १० घण्टा समय लगाएर आउँछन् । यो समस्यका कारण पर्यटक पोखरा आउनुको साटो अन्यत्रै डाइभर्ट हुने गरेका छन् । अहिले एभरेष्ट रिजनमा अहिले पनि पर्यटक एकदमै प्याक रहेको सुनिन्छ । पोखरा आउने पनि बेंशी शहर हुँदै जोमसोम, मुक्तिनाथ तिर पुग्दै आएका छन् ।

पोखराको पर्यटन व्यवसाय पूरानै अवस्थाबाट चल्ला ?

सबैभन्दा ठूलो कुरा पोखरालाई हब र अरूतिर सबहब बनाउन सकिने अवस्था छ तर यसमा केही अफ्ठ्याराहरू छन् । अहिलेको पोखरा जुन अवस्थामा छ, त्यसले मात्रै पोखराले यसक्षेत्रको पर्यटनको नेतृत्व गर्न सक्दैन । अहिले हामी संस्कृति र सम्पदालाई मात्र बढी जोड दिँदै आएका छौं । उनीहरूलाई पूर्वाधारका नाममा नयाँ संरचना बनाउन भन्दा पनि उनीहरू घुम्ने डुल्ने ठाउँमा सहज रूपमा रमाइलो तरिकाले यात्रा गर्न पाउनुपर्छ । त्यस्तै नयाँ गन्तव्यको खोजी पनि उत्तिकै जरूरी छ । नेपालमा आउने ७०–८० प्रतिशत पर्यटक ट्रेकिङ र हाइकिङका लागि आउने हुन् । यहाँको प्रकृतिसँग भिज्नका लागि आउने हुन् । अर्को कुरा पोखराबाट पर्यटक डाइभर्ट हुन नदिनको लागि बच्चाहरू रमाउनका लागि वाटर स्पोटर्सका गतिविधिलाई बढाउन सकिन्छ । फन क्लब÷पार्क, डिन्जे ल्याण्डहरू विस्तार गर्न सकिन्छ । त्यस्तै कन्फरेन्स हल निर्माणलाई प्राथमिकता दिन सकिन्छ । यत्रा धेरै सार्वजनिक जग्गा छन्, त्यसलाई उपभोग गरेर ति संरचना बनाउन सकेको अवस्थामा कार्यक्रम गर्ने प्रयोजनले पनि पर्यटक आउन सक्छन् । भएकै पर्यटकीय गन्तव्यमा कसरी प्रभावकारिता ल्याउन सकिन्छ, त्यसमा पहल र नयाँ सम्भावनाको खोजी गर्ने कुरामा पनि चासो देखाउनुपर्छ ।

You might also like

Comments are closed.