काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितको समस्यालाई तत्काल समाधान गर्दै उनीहरूलाई समयमा नै न्याय दिन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै श्रेष्ठले मिटरब्याज पीडितका लागि पटक–पटक आयोग गठन भए पनि ती आयोगका प्रतिवेदन कार्यान्वयन नभएकोप्रति गम्भीर चिन्ता व्यक्त गरिन् । उनले आयोगले तयार पारेका प्रतिवेदन र कार्यविधि लागू गरिए ८० प्रतिशत समस्याको समाधान सम्भव हुने बताइन् ।
श्रेष्ठले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको जाँचबुझ आयोगको प्रतिवेदन र पूर्वन्यायाधीश तेजबहादुर कार्कीले तयार पारेको कार्यविधिलाई स्वीकृति दिनुपर्नेमा जोड दिइन् ।
उनले “आफ्नो–अर्को नभनी सबैमाथि निष्पक्ष अनुसन्धान हुनुपर्छ,” भन्दै मिटरब्याज पीडितको मुद्दामा कुनै दल वा व्यक्ति केन्द्रित राजनीति नगर्न आग्रह गरिन् । श्रेष्ठले पीडितको समस्या गिजोल्ने र आयोगमाथि आयोग बनाउने राज्यको नीति असफल भएको भन्दै आलोचना पनि गरिन् ।
“राज्यले नै पीडितलाई आन्दोलन गर्न बाध्य बनाइरहेको छ,” भन्दै श्रेष्ठले अघिल्लो आयोगलाई असफल बनाएर फेरि अर्को आयोग बनाएर कामचलाउ प्रतिवेदन तयार गर्ने प्रवृत्तिप्रति आपत्ति जनाइन् ।
उनले निष्पक्षता सुनिश्चित गर्दै सबै पीडितको न्याय सुनिश्चित गर्न सरकारसँग माग गरिन् र आफ्नो पार्टीको साहु–महाजनहरूलाई जोगाउन मिटरब्याज पीडितको मुद्दामा राजनीति नगर्न चेतावनी दिइन् ।
Comments are closed.