विश्वव्यापी रूपमा दिगो बैंकिङको अवधारणाले गति लिइरहेको सन्दर्भमा नेपालमा दिगो बैंकिङको अभ्यासलाई एनएमबि बैैंकले अवलम्बन गर्दै आएको छ । हालसम्म बैंकले यस क्षेत्रमा गर्दै आएको कार्यहरू र आगामी समयमा बैंकले अवलम्बन गर्ने भावी योजनाको विषयमा विगत २८ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेसँग आर्थिक आवाजका प्रधानसम्पादक सुरेन्द्र पौडेलले गरेको कुराकानी :
दिगो विकास लक्ष्य भनेको के हो ?
भावी पुस्ताको आवश्यकता र विकासका सम्भावनाहरूसँग सम्झौता नगरी वर्तमान पुस्ताको आवश्यकता परिपूर्ति गर्ने विश्वव्यापी विकासको कार्यसूची नै दिगो विकास हो । दिगो विकास मुख्यतः सेयरिङ अफ प्रोस्परिटी,सेयरिङ अफ डिस्ट्रिबुसन एण्ड अफ डेभलपमेण्ट अवधारणामा आधारीत छ । यसका ५ ओटा विश्वव्यापी सिद्धान्त वा आधार स्तम्भ छन् जसमा पिपुल, प्लानेट, प्रोस्परिटी, पिस र पार्टनरसिप पर्दछन् । दिगो विकासले मुख्यतया आर्थिक वृद्धि, सामाजिक विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्न खोज्छ । दिगो विकास वातावरणीय स्वच्छता कायम राख्दै प्राकृतिक स्रोतको उपयोग गर्ने, प्रदूषण घटाउने र वर्तमान तथा भावी पुस्ताका आवश्यकता सुनिश्चित गर्ने योजना हो । हाम्रो मुलुकले समेत संयुक्त राष्ट्र संघद्वारा तय गरिएका विश्वव्यापी दिगो विकासका लक्ष्य (SDGs) अनुरूपकै विभिन्न लक्ष्य अवलम्बन गरेको छ ।
दिगो विकास लक्ष्यको अवधारणाको प्रार्दुभाव कहिलेबाट भएको हो ?
वातावरण, अर्थतन्त्र, समुदाय र शासकीय पक्षको सम्मिलन र सन्तुलनको आवश्यकता महशुस गरेर दिगो विकास लक्ष्यको अवधारणा प्रथमपटक सन् १९९२ मा ‘युएन स्टकहोमकन्फेरेन्स अन ह्युमन इन्भाइरोमेन्ट’बाट औपचारिक रूपमा शुरु भएको थियो । यस सम्मेलनपछि सन् १९८० को आईयूसीएन, डब्लूडब्लुएफ, यूएनईपी र लिभिङ रिसोर्स कन्जर्भेशन फर सस्टेनेवल डभलपमेण्ट रिपोर्ट’ मा दिगो विकास लक्ष्यसम्बन्धी उल्लेख भएकोे पाइन्छ । पछिल्लो समयमा संसारभर यो अवधारणा अवलम्बन भइरहेको छ ।
दिगो विकासका पछिल्ला लक्ष्य २०१५ सेप्टेम्बर २५ मा निर्धारण गरिएको थियो । संयुक्त राष्ट्र संघको महासभाले गरिबीको अन्त्य गर्न, पृथ्वीको रक्षा गर्न र सन २०३० सम्ममा सबैका लागि शान्ति र समृद्धि सुनिश्चित गर्न १७ वटा लक्ष्य र १६९ परिमाणात्मक लक्ष्य तोकी विश्वसमुदाय माझ सो को अवलम्बन गर्न अपिल गरेको थियो ।
नेपालमा दिगो विकास तथा दिगो बैंकिङमा काम गर्नुपर्ने आवश्यकता किन छ ?
हाम्रो देशको अर्थतन्त्र आयातमा केन्द्रित छ । हाम्रो अहिलेको राजस्वले साधारण खर्चसमेत धान्न नसक्ने अवस्था छ । पूँजीगत खर्चका लागि बाहिरबाट र आन्तरिक ऋण लिनुपर्ने आवश्यकता छ । सहुलितपूर्ण अनुदान विस्तारै विस्तारै विश्वव्यापी रूपमा कम भएर गइरहेका छन् । यो समयमा नेपालले अझै बढी प्राथमिकताका साथ दिगो विकासमा काम गर्नुपर्ने देखिन्छ । दिगो विकासमा यूएनले तय गरेको एसडीजीलाई हाम्रो अवस्थिति र आवश्यकताको आधारमा स्थानीयकरण गर्दै अगाडि बढ्नुपर्छ । अब हामीले हाम्रो परिप्रेक्ष्यमा आवश्यकता निर्धारण गर्दै दिगो विकासमा काम गर्नुपर्छ । गरीबी निवारण, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित लक्ष्यलाई नेपालले प्राथमिकता दिनुपर्ने देखिन्छ । कृषि र खाद्य सुरक्षाको क्षेत्रमा पनि हामीले राम्रो गर्न सक्छौं । यसमा हामीले नेपालको स्वार्थमा काम गर्ने हो । १७ ओटा लक्ष्यमध्ये कुन कुनलाई कति प्राथमिकता दिएर काम गर्ने भन्ने निर्णय नेपालले लिनु आवश्यक छ ।
युएनले एसडीजीमा काम नगर्दै दिगो विकासका क्षेत्रमा बैंकले लगानी गर्दै आएको थिएन र ?
पक्कै पनि थियो । हामीले क्षेत्रगत रूपमा लगानी गर्नुपर्ने नीति दिगो विकास अन्तर्गत नै आएको हो । केन्द्रीय बैंकले बैंकलाई धेरै अगाडि देखि नै कुनै न कुनै खालका उत्पादनशिल क्षेत्रमा लगानी गर्ने मापदण्ड तोकिदिएको अवस्था छ । ५ प्रतिशत विपन्न वर्गलाई लगानी गर्नुपर्ने कुरा गरीबी निवारण गर्नका लागि वित्तीय पहँचलाई बढावा दिने कुरासँग सम्बन्धित छ । १५ प्रतिशत कृषिमा लगानी गर्नुपर्ने नीति छ । माइक्रो एसएमईमा १५ प्रतिशत लगानी गर्नुपर्छ । रोजगार सृजना र आर्थिक क्षेत्रमा माइक्रो एसएमईको योगदान महत्वपूर्ण छ । हाइड्रोपावरमा १० प्रतिशत लगानी गर्नुपर्छ । ४५ प्रतिशत लगानी पूरै दिगो विकाससँग नै सम्बन्धित छ । हामीले ४५ प्रतिशत मात्रै होइन पूरै लगानीलाई दिगो विकास तथा दिगो बैंकिङ क्षेत्रमा केन्द्रित गर्न खोजिरहेका छौं ।
दिगो विकास र यसै सँग जोडिएको जलवायु परिवर्तन विरुद्घ को अभियानमा हाल रहेका समस्या र अवसरहरू के के देखिन्छन ?
गरीबी निवारण, खाद्य सुरक्षा अभिवृद्धि गरी भोकमरीको अन्त्य, स्वास्थ, शिक्षा, लैंङ्गिक समानता, नविकरणीय ऊर्जाको प्रवर्द्धन गर्दै जलवायु परिवर्तनको जोखिम न्यूनीकरण, कृषि तथा पूर्वाधार, असमानताको अन्त्य, शान्ति तथा न्यायमा आधारित शासकीय पद्घतीको विकास गर्नु नेपालको दिगो विकासको लागि अत्यन्तै आवश्यक देखिन्छ भने अर्काेतर्फ उद्योग धन्दाको विकास तथा विस्तार गर्दै उत्पादनशील क्षेत्रमा सहज ऋणको प्रवाह आर्थिक समृद्धिको लागि महत्वपूर्ण छन् । श्रोत र साधन सिमितताले गर्दा हाम्रो देशलाई दिगो विकासको लक्ष्य प्राप्ति गर्नको लागि सबैभन्दा ठूलो समस्या भनेकै वित्त व्यवस्थापन नै हो । विकसित देशबाट गरिने प्रतिवद्धता र प्राप्तिमा ठूलो अन्तर देखिँदै आएको छ ।
दिगो विकास, जलवायु परिवर्तन र हरितगृह ग्यास उत्सर्जनको चुनौतीमा सीमित स्रोत र पूँजी, प्रभावकारी नियम र अनुगमन, प्राविधि र पूर्वाधार आदि चुनौतीको रूपमा रहेको र तिनै क्षेत्रमा लगानी अभिवृद्घी गरी प्रभावकारी र देखिने गरी प्रतिफल प्राप्त गर्न सकिने सम्भावना हाम्रो लागि अवसर हुनसक्छ ।
दिगो विकास को प्रवद्र्घन र जलवायु परिवर्तन को लडाईंमा ‘ग्रिन बैंकिङ’को कस्तो महत्व देख्नुहुन्छ ?
‘ग्रिन बैंकिङ’ स्वच्छ ऊर्जा र जलवायु परिवर्तनसँग जुध्नको लागि न्यूनतम आवश्यकीय मापदण्डमा रहेर प्रदान गरिने बैंकिङ सेवा हो । यसअन्तर्गत बैंक तथा वित्तीय संस्थाले विभिन्न माध्यमबाट कार्वन उत्सर्जन शून्य हुने वा न्यून हुने व्यवसायमा लगानी गर्दछन ।
अहिले विश्वभर नै ‘ग्रिन बैंकिङ’ को अवधारणा फराकिलो हुँदै गइरहेको छ र यसको लागि ग्रिन इन्भेष्टमेण्ट, ग्रिन क्यूसाई क्यापिटल, ग्रिन विजनेश क्यापिटल एन्जल्स, ग्रिन भेन्चर क्यापिटल, ग्रिन सर्कुलाटरी क्यापिटल, ग्रिन डोमेस्टिक बोन्ड, ग्रिन अफसोर बरोविङ, ग्रिन गभरमेण्ट फण्ड, ग्रिन ब्लेन्डेड फाइनान्स आदि पूँजी परिचालन हुने संयन्त्रको प्रयोगबाट ग्रिन लोन प्रदान गर्दै वातावरणमैत्री पोर्टफोलियोको निर्माण गर्ने उद्देश्य निहित रहेको हुन्छ । यसरी ग्रिन विजनेश स्ट्राटेजीको अवलम्बन गरी ग्रिन अर्गानाइजेशनल कल्चरको निर्माण गर्न सकिन्छ ।
दिगो बैंकिङको अवधारणालाई एनएमबी बैंकले कसरी आत्मसात् गर्दै आइरहेको छ ?
एनएमबी बैंकले विगतदेखि नै आफ्नो पञ्चवर्षीय योजनामा दिगो विकाससम्बन्धी उद्देश्यलाई समेटेरै अगाडि बढ्दै आएको छ । सरकारले लिएको दिगो विकास लक्ष्य (एसडीजीस्)का लक्ष्यलाई सहयोग पुर्याउन वित्तीय क्षेत्रको पनि भूमिका हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै दिगो बैंकिङको अवधारणालाई हामीले अनुशरण गर्दै आइरहेका छौं । बैंकिङ क्षेत्रले समेट्ने र वित्तीय कारोबार तथा लगानीका क्षेत्रमा एसडीजीको कार्यान्वयनमा बल पुग्ने गरी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ, त्यसलाई हामीले प्राथमिकता मा राखेका छौं ।
एनएमबि बैंकले सम्वृद्ध नेपालको लागि योगदान गर्ने स्पष्ट कार्यदिशा लिएको छ । दिगो र उत्तरदायी बैंकिङतर्फ आफ्नो रणनीतिक उद्देश्यमा केन्द्रित गरेको छ । यस यात्रामा एफएमओ र जीएबीभीसँगको सहकार्य र आईएफसीले तय गरेको इन्भाइरोमेण्ट एण्ड सोसल स्टाण्डर्डको अवलम्बनले हाम्रोे दिगो बैंकिङ रणनीतिलार्ई सहयोग गरेको छ । दिगो बैंकिअन्तर्गत दक्ष कर्मचारीतन्त्रको विकास, दिगो व्यावसायिक परियोजना, कार्वनअफसेट गर्ने रणनीति, जलविद्युत्मा लगानी विस्तार, भेलु बेस्ड बैंकिङका सिद्धान्तको पालना, आइएफसी मापदण्ड अनुरूप वातावरणीय र सामाजिक जोखिम व्यवस्थापन, ईएसआरएमको कार्यान्वयन र कार्वन फुटप्रिण्ट डिस्क्लोजर आदि कार्य हामीले गर्दै आइरहेका छौं ।
विकसित देशको तुलनामा नेपाल जस्तो अर्धविकसित देशमा दिगो बैंकिङको अवधारणामा काम गर्न कति अप्ठ्यारो छ ?
विकसित देशमा धेरै मात्रामा कार्वनउत्सर्जन हुने गरेको देखिन्छ । विश्वव्यापी रूपमा हेर्दा नेपालको कार्वनउत्सर्जन ०.०२ देखि ०.०३ प्रतिशत मात्रै छ । त्यसबाट के बुझिन्छ भने कार्वनउत्सर्जन नियन्त्रण हाम्रो तुलनामा विकशित देशको प्रथमिकताभित्र पर्नुपर्छ । तर योसँग जोडिएको चुनौती हामीसँग पनि छ । अरुका कारणले हाम्रो स्वास्थ्य र वातावरणमा प्रत्यक्ष असर पारिरहेको छ । बाढी पहिरो, हिमालयको ग्लासिएरको क्षयीकरण, कृषि उत्पादनमा ह्रास लगायतको प्रत्यक्ष असर हाम्रो देशमा पनि परिरहेकोे छ । दिगो बैंकिङ अपनाउन नयाँ अवधारणा भएको, नियामक र ग्राहक लगायत सरोकारवालाबीच समान दृष्टिकोण को कमी भएको, प्रविधिमा ठलो लगानी आवश्यक रहेको, पूर्वाधार र मानव संसाधनको कमी रहेको, नीति, नियम र संगठित प्रयास नहुनु, कार्यान्वयनको लागीे गुणस्तरीय र भरपर्दो डाटा सोर्सको अभाव आदि चुनौतीको रूपमा रहेका छन् ।
जलवायु परिवर्तनको विषयमा केन्द्रीय बैंकको भूमिका कस्तो हुनुपर्छ ?
जलवायु परिवर्तनको कारणले गर्दा भौतिक जोखिम र संक्रमणकालीन जोखिम आदि सृजना हुनसक्छन् । यस्ता जोखिमले भौतिक सम्पत्तिमा समेत ठूलो क्षति निम्त्याई आर्थिक क्षेत्रमा संकट सृजना गर्नुका साथै नीतिगत तथा प्रविधिमा आएको परिवर्तनले मुलुकभित्र रहेका विभिन्न क्षेत्रसँग सम्बन्धित सम्पत्ति तथा लगानीको प्रतिफलमा ह्रास आउने र ती लगानी स्ट्रान्डेड एसेट्समा परिवर्तन हुनसक्ने सम्भावना रहन्छ । तसर्थ केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई जलवायु परिवर्तनले सृजना गर्ने सञ्चालन जोखिम, कर्जा जोखिम, बजार जोखिम आदी लाई न्यूनीकरण गर्न उचित निर्देशन दिनुपर्दछ ।
बाढी, पहिरो, खडेरी र मौसमी घटनाका प्रभावको मुल्याकंन गर्दै विपत् व्यवस्थापन रणनीति तर्जुमा गर्नु आवश्यक छ । यसैगरी केन्द्रीय बैंकले, बैंक तथा वित्तीय संस्थाले गर्ने ग्रिन बैंकिङ अभ्यासको अनुगमन प्रभावकारी तरीकाले गर्नुपर्छ । जलवायु जोखिम व्यवस्थापनसँग सम्बन्धित नियमित प्रतिवेदन प्रकाशन गर्ने र जलवायु परिवर्तनसम्बन्धी चुनौतीलाई सम्बोधन गर्न पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न केन्द्रीय बैंकको महत्वपूर्ण भूमिका हुन्छ ।
दिगो बैंकिङमा लगानी बढाँउदा त्यसबाट सृजित जोखिम कस्तो हुनसक्छ ?
जोखिम हुनसक्छ । उत्पादनमूलक, कृषि क्षेत्र र वातावरणका क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ । यसको आफ्नै खालको चुनौती छ । जोखिमलाई कम गर्नका लागि जोखिम व्यवस्थापन गर्नुपर्छ । जोखिमलाई मूल्यांकन गरेर काम गर्ने हो । कृषिमा पनि कुन क्षेत्रमा कतिको जोखिम छ भनेर आवश्यक अध्ययनपश्चात् हामीले त्यसको व्यवस्थापन गर्छौं । त्यस्तै हरेक लगानीभित्रका संभावना, अवसर, जोखिम, सबल र कमजोर पक्षको मूल्यांकन हुनुपर्छ । हाम्रो अर्थ व्यवस्थाले सम्भावना देखाएको क्षेत्र र सरकारले पनि प्राथमिकता दिएको क्षेत्रमा लगानी गर्छौं । दिगो आर्थिक विकासका लागि उत्पादनमूलक क्षेत्रमा नै जाने हो । १०० ओटा लगानीमा १–२ ओटामा समस्या होलान्, त्यो अवस्थामा पनि व्यवस्थापन गरेर जान सक्नुपर्छ ।
एनएमबि बैंकले विदेशबाट फण्ड ल्याएर काम गर्दै आइरहेको छ । यसको प्रभाव के छ ?
हामीले विदेशी ऋणदातासँगको सम्झौताअनुसार काम गर्नुपर्छ । यसमा हामीले मार्जिन कम लिएर पनि दिगो बैंकिङमा योगदान पुग्ने गरी कृषि, उद्योग, माइक्रो एसएमई, माइक्रो फाइनान्स लगायत क्षेत्रमा लगानी गरिरहेका छौं । पूर्वाधारको क्षेत्रमा काम गर्यो भने राज्यले पनि प्राथमिकतामा राख्छ ।
हामीले काम गर्ने हरेक क्रियाकलाप मुलुक र नागरिकको हितमा हुने गरी गर्नुपर्छ । विदेशबाट ल्याएको ऋण हामीले नागरिक र समुदायलाई लाभ हुने गरी शिक्षा, स्वास्थ्य, पूर्वाधार र उर्जा लगायतका क्षेत्रमा लगानी गरेका छौं । एनएमबी बैंकसँगको विजनेश अभ्यासले गर्दा अन्तरराष्ट्रिय फाइनान्सरको विश्वास अन्य नेपाली बैंकसँग पनि बढ्दै गएको छ ।
एनएमबि बैंकका आगामी योजना के के छन् र दिगो बैंकिङको अवधारणालाई प्राथमिकता दिएको एनएमबि बैंकले निरुत्साहित गरेको लगानीको क्षेत्र कुन कुन हुन् ?
प्रोडक्ट र सर्भिसमा नयाँ माग सृजना भएको छ । ग्राहकको माग समय अनुरूप पनि बदलिँदो छ । हामी डिजिटलाइजेशनलाई प्राथमकितामा लिएर अगाडि बढ्दैछौं । दिगो बैंकिङलाई पनि पहिलो प्राथमिकतामा राखेका छौं । ग्राहकको लागि फस्ट च्वाइस बैंक बनाउने हाम्रो लक्ष्य र उद्देश्य रहेको छ । हामीले पोलिसी लेभलमा काम गरिरहेका छौं । प्रक्रियामा सुधार गरी छिटो छरितो सुविधा प्रदान गर्न हाम्रो संरचनालाई पनि रिफर्म गरी घनिभूत र प्रभावकारी बनाउने हाम्रो लक्ष्य छ । अर्गनाइजेशन कल्चर निर्माणमा काम गरिराखेका छौं, किनकी संस्थाले भोलि दिगो रुपमा प्रगति गर्ने भनेको राम्रो संस्थागत कल्चरको स्थायित्वको कारणले नै हो ।
मानव स्वास्थ्य तथा देशको आर्थिक क्षेत्रमा नकारात्मक असर गर्ने व्यवसायमा हामीले लगानी गरेका छैनौं । स्वास्थ्यलाई असर गर्ने सुर्ती तथा मदिराजन्य पदार्थको उत्पादनमा कर्जा लगानी गर्दैनौं । पहाडबाट ढुंगा निकालेर निर्यात गर्ने व्यवसायमा हामीले लगानी गर्दैनौं । हामीले लगानी नगर्ने अन्य क्षेत्रमा हात हतियार, वन फँडानी, जुवा र क्यासिनो, बाल श्रम आदि पर्दछन ।
एनएमबिले ‘बैंक अफ दि एसिया अवार्ड ’ पनि प्राप्त गर्न सफल भयो । यो सफलता कसरी सम्भव भयो ?
विगतमा बैंक अफ दि इयरको अवार्ड लगातार प्राप्त गर्न सफल भएको एनएमबि बैंक एसियाको उत्कृष्ट बैंक पनि बनेको छ । हामी वासलातको हिसाबले एसियाको ठूलो बैंक भने पक्कै पनि होइन । साइजको हिसाबमा देशको ठूलो बैंक पनि होइन । हामीले आफूलाई कल्चर, प्राक्टिस, गभर्नेन्स र म्यानेजमेण्टको हिसाबमा उत्कृष्ट बैंक हो भन्दै आएका छौं । एसियाको बेस्ट बैंक बन्नुको पछाडि हामीले गरेको डिजिटलाइजेशनको कार्यान्वयन र वातावरणको क्षेत्रमा बैंकले काम गर्दै आएकाले पनि उक्त अवार्ड प्राप्त भएको हो । नवीकरणीय ऊर्जालाइ हामीले जहिले पनि प्राथमिकतामा राख्यौं । जंगलको स्याउला तथा वेस्टेजबाट ब्रिगेट तयार पार्ने उद्योग, सुधारिएको चुल्हो लगायतको योजनामा पनि लगानी गर्यौं । फरक तरिकाले प्रभावकारी रूपमा काम गर्दा हामीले उक्त सम्मान प्राप्त गरेका हौं ।
अन्त्यमा के भन्नुहुन्छ ?
बैंकिङ क्षेत्र र समग्र राष्टको हितका लागि अब नेपालको बैंकिङ क्षेत्रले दिगो बैंकिङमा लगानी केन्द्रित गर्नु आवश्यक छ । एनएमबीको प्राथमिकता पनि अब दिगो बैंकिङमा नै रहन्छ ।
गरीबी, जलवायु परिवर्तन र सामाजिक असमानता जस्ता समस्यालाई सम्बोधन गर्न दिगो बैंकिङबाट सृजित अवसरलाई सदुपयोग गरौं र समावेशी एवं समृद्ध नेपालको निर्माणमा काम गरौं ।
मलाई यस्तो महत्वपूर्ण विषयमा आफ्नो धारणा राख्ने अवसर प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद ।
Comments are closed.