म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताका लागि सम्झौता भएको छ । एक समारोहबीच क्याम्पस र बैंकबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
समझदारीपत्रमा क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख श्रीधर सुवेदी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरिबहादुर बुढाथोकीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । समुदायस्तरबाट सञ्चालित यस क्याम्पसमा अध्ययनरत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई रोजगारको सुनिश्चिततासहित आवश्यक सहयोग गर्ने गरी समझदारी भएको छ ।
ग्रीन डेभलपमेन्ट बैंकसँग म्याग्दी बहुमुखी क्याम्पसले गरेको सम्झौता अनुसार उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने क्याम्पसका विद्यार्थीलाई रोजगारको ग्यारेण्टी, इन्टनर्सिप गर्न पाउने अवसर, छात्रवृत्तिको कार्यक्रम, पेशा तथा व्यवसायका साथै आवश्यक सहयोग उपलब्ध हुने क्याम्पस प्रमुख सुवेदीले बताए । समझदारीपत्रमा हस्ताक्षर गरेसँगै क्याम्पस र बैंकबीच सहकार्य गर्ने वातावरण समेत निर्माण भएको छ भने क्याम्पसबाट उत्पादित दक्ष जनशक्तिलाई रोजगारको अवसर सुनिश्चित हुने अपेक्षा गरिएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठले क्याम्पस र ग्रीन बैंकबीच समझदारी भएकाले आगामी दिनमा पनि निरन्तर रुपमा संस्थागत सहकार्य गरिने बताए । क्याम्पसको आग्रहलाई ग्रीन डेभलपमेन्ट बैंकले सहर्ष रुपमा स्वीकार गरेकोमा धन्यवाद दिँदै क्याम्पसको दक्ष उत्पादनलाई बैंकिङ क्षेत्रमा सहज तरिकाले रोजगारी पाउने वातावरण मिलेको बताए ।
बैंकका सञ्चालक सूर्यप्रसाद लम्सालले आफ्नो जागिरको सिलसिला पनि म्याग्दीबाटै सुरु भएको जानकारी गराउँदै शैक्षिक संस्थासँगको सहकार्यलाई निरन्तरता दिइने बताए । बैंकका सिईओ बुढाथोकीले ग्रीन बैंक क्षेत्रीयस्तरको बैंक रहेकाले यसको केन्द्रीय कार्यालय पोखरामा रहेको बताउँदै बैंकले सबै सूचकहरु हासिल गरेको हुँदा प्रगतिउन्मुख रहेको जनाए । बैंक र क्याम्पसको बीचमा समझदारी भएपछि विद्यार्थीलाई छात्रवृत्ति प्रदान, रोजगारसहित विभिन्न सहयोगहरु गर्न सकिने उनले जनाए ।
कार्यक्रममा क्याम्पस प्रमुख सुवेदीले वि.सं. २०४८ सालमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययन तथा अध्यापनको कार्य भइरहेको बताए । म्याग्दी बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट २०७६ सालमा धौलागिरि क्षेत्रमा पहिलोपटक गुणस्तर सुनिश्चितता प्रत्याययन (क्युएए) प्राप्त गरेकाले शैक्षिक गतिविधिसँगै विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको उनी बताउँछन् ।
ग्रीन डेभलपमेन्ट बैंकसँगको समझदारी गर्ने कार्यक्रममा क्याम्पस अभिभावक संघका अध्यक्ष एवं सञ्चालक समिति सदस्य ठाकुरप्रसाद शर्मा, घनश्याम खड्का, सहायक क्याम्पस प्रमुखहरु नारायणप्रसाद सुवेदी, भोलनाथ घिमिरे, पशुपतिनाथ ढकाल र स्वतन्त्र विद्यार्थी युनियनका सचिव मञ्जुर कटुवाल लगायत सहभागी थिए ।








Comments are closed.