पोखरा । होटल संघ पोखराले होटल व्यवसायीहरु तत्काल बैंकको सावाँ तथा व्याज चुक्ता गर्न सक्ने अवस्थामा नरहेको जनाएको छ । संघले शनिबार एक विज्ञप्ति जारी गर्दै कोभिड संक्रमणलगायतका कारण थलिएको होटल क्षेत्र जटिल अवस्थाबाट गुज्रदै गर्दा होटल क्षेत्रको कर्जा र ब्याज असुलीमा बैंक तथा वित्तीय संस्थाहरुले कडाई गर्दा व्यवसायी झन प्रताडित भएको जनाएको छ ।
होटल क्षेत्रमा रहेको अर्बौं रुपैयाँको लगानीलाई संरक्षण गर्न सरकारका तर्फबाट यसअघि घोषणा गरिएका राहातका कार्यक्रममा समेत चालू बजेटमा कटौति गरिएको र कतिपय राहातका कार्यक्रमहरु घोषणामा मात्र सीमित हुन पुगेको बताउँदै संघले होटल क्षेत्र जटिल अवस्थाबाट गुज्रँदै गर्दासमेत लगानीको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि सरकारी क्षेत्रबाट कुनै ठोस कदम अगाडि नबढाइएको जनाएको छ ।
साथै चालू बजेट र मौद्रिक नीतिमार्फत् कुनै ठोस राहातका कार्यक्रम आउन नसके पनि निर्देशिका मार्फत व्यवसायीका मागलाई समेटिने भनिए पनि त्यस्तो हुन नसकेको र थला परेको पर्यटन क्षेत्र विस्तारै उठ्ने प्रयास गर्दै गर्दा बैंकहरुले एकतर्फी रुपमा वृद्धि गरेको चर्को ब्याजदरले यो क्षेत्र झनै मारमा परेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
होटल क्षेत्रले चुक्ता गर्नुपर्ने सबै प्रकारका कर्जा तथा ब्याज तिर्न व्यवसायी तयार रहेको तर त्यस्तो दायित्वलाई आउँदो वर्षमा मिलान गर्ने व्यवस्था मिलाइ दिन संघले नेपाल राष्ट्र बैंक, सम्बन्धित मन्त्रालय र सरकारसँग आग्रह गरेको छ ।
साथै तत्काल सावाँ तथा ब्याज असुलीका लागि बैंक तथा वित्तीय संस्थाका तर्फबाट व्यवसायीलाई पटक–पटक ताकेता नगर्न पनि संघले अनुरोध गरेको छ ।
Comments are closed.