काठमाडौं । हिरो स्कुटरको मूल्य २७ प्रतिशत घटेको छ । हिरोको इलेक्ट्रीक स्कुटर भिडा भीएक्स टुको मूल्य २७.३२ प्रतिशत घटेको हो । हिरो मोटोकर्पले भारतीय बजारमा एक हप्ताअघि सार्वजनिक गरेको भिडा भीएक्स टुको मूल्य एकैपटक १५ हजार भारतीय रुपैयाँ घटाएको कम्पनीले बताएको छ ।
कम्पनीले भारतीय बजारमा भिडा भीएक्स टु ५९ हजार ४९० रुपैयाँ मूल्य तोकेर सार्वजनिक गरेको थियो । कम्पनीले १० दिन नबित्दै यसको मूल्य १५ हजार भारु घटाएसँगै अब ४४ हजार ९९० रुपैयाँ (एक्स शोरुम) मूल्यमा किन्न पाइने भएको छ । हिरो मोटोकर्पले भारतीय बजारमा भिडा भीएक्स टु ‘ब्याट्री एज अ सर्भिस’ मोडलमा सार्वजनिक गरेको थियो ।
कम्पनीले यसलाई बिना ब्याट्री र ब्याट्रीसहित गरी दुई अप्सनमा बिक्री गर्न थालेको हो । मूल्य घटेपछि ब्याट्री सहित किन्ने ग्राहकले भिडा भीएक्स टु स्कुटर ८४ हजार ९९० भारतीय रुपैयाँ तिरेर किन्न सक्नेछन् । ब्याट्रीबाहेक ‘ब्याट्री एज अ सर्भिस’ लिन चाहने ग्राहकले मात्र ४५ हजार भारतीय रुपैयाँमा भीडा भीएक्स २ किन्न पाउँछन् । ब्याट्रीरहित स्कुटर किन्ने ग्राहकले प्रतिकिलोमिटर ९६ पैसा मात्रै तिरेर ब्याट्री प्रयोग गर्न सक्नेछन् ।
यसरी ‘ब्याट्री एज अ सर्भिस’ मोडलमा स्कुटर किन्ने ग्राहकले साप्ताहिक वा मासिक प्याकेजमा ब्याट्री प्रयोग बापत प्रतिकिलोमिटर ९६ पैसा शुल्क तिर्दा पुग्छ । यसले जति गुड्यो, त्यति नै रकम खर्च गर्दा पुग्नेछ । ‘ब्याट्री एज अ सर्भिस’ मोडलमा स्कुटर किन्दा ग्राहकले ब्याट्री लाइफको चिन्ता लिइराख्नु पर्दैन भने, सुरुवाती लागत नै ४० प्रतिशतसम्मले कम लाग्ने भएको हो ।
हिरो मोटोकर्पले सार्वजनिक गरेको नयाँ भीडा भीएक्स टु २.२ किलोवाट आवर र ३.४ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध छ । यसले क्रमशः ९२ किलोमिटर र १४२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । भारतमा विद्युतीय दुईपाँग्रेमा प्रतिस्पर्धा बढ्दै जाँदा ‘ब्याट्री एज अ सर्भिस’ मोडलले निकै ठूलो भूमिका खेल्ने देखिन्छ । यही मोडलमा सार्वजनिक एमजी विन्डसरले भारतमा निकै राम्रौ व्यापार गर्न सफल भएको छ ।
Comments are closed.