हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-बेइजिङ उडान

काठमाडौं । हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा पहिलो उडान सुरु गरेको छ । उक्त एयरलाइन्सले आज पहिलोपटक काडमाडौं–बेइजिङ उडान सुरु गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुराका अनुसार आज बिहान १० बजेर ४० मिनेटमा उक्त विमान काठमाडौंबाट उडेको र बेइजिङको तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। नेपालको काठमाडौं र बेइजिङलाई सीधा जोड्ने यो पहिलो उडान भएको छ।

चीनको राजधानी बेइजिङमा झण्डै तीन वर्षपछि विदेशका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान थालेका छन्। तीमध्ये हिमालय एयरलाइन्स पहिलो भएको बताइएको छ। राजधानीको नयाँ विमानस्थल बेइजिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले हप्तामा एकपटक उडान भर्ने भएको छ।

चीनले कोभिड–१९ महामारीपछि सन् २०२० को मार्च १ देखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो। अब चीनको चाइना साउदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, बेइजिङ क्यापिटल एयरलाइन्ससँगै हिमालय एयरलाइन्सले पनि उडान सुरु गरेको हो । तीमध्ये हिमालयले हाललाई साताको एकपटक काठमाडौंबाट उक्त विमानस्थलमा उडान भर्ने र चाइना साउर्दनले हङकङमा साताको तीन उडान गर्ने बताइएको छ।

You might also like

Comments are closed.