काठमाडौं । नेपाली र चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले निःशुल्क कोभिडविरुद्धको खोप ढुवानी गर्ने भएको छ । चिनियाँ सरकारले अनुदानस्वरुप नेपाल सरकारलाई दिएको १० लाख मात्रा खोपमध्ये हिमालयले दुई लाख मात्रा खोप निःशुल्क ढुवानी गर्ने भएको हो ।
उक्त खोप चार उडान तथा अवतरणमार्फत ल्याइने एयरलायन्सका वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिलो खेपको खोप मंगलबार बिहान १०५ बाकस काठमाडौं ल्याइसकिएको छ । चीनको कुनमिङबाट ल्याइएको उक्त खोप आज बिहान ६ः२८ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइसकेको छ ।
दुई लाख मात्र खोप ४१७ बाकसमा राखिएको जनाइएको छ । बाँकी खोप लिन हवाइजहाज बुधबार पुनः चीन जानेछ । चार निःशुल्क कार्गो उडान सञ्चालन गर्दा एयरलायन्सले अमेरिकी डलर एक लाख ९२ हजार अर्थात् नेपाली रु दुई करोड २५ लाख बराबरको आर्थिक योगदान गर्ने श्रेष्ठले जानकारी दिए ।
कोभिडको महामारीको शुरुदेखि नै एअरलाइन्सले नेपाल सरकार र नेपाली जनतालाई सहयोग गर्दै आएको छ । सहयोगस्वरुप यसअघि एअरलाइन्सले सरकारको कोभिड–१९ नियन्त्रण कोषमा रु एक करोड जम्मा गरेको थियो ।
यस्तै आम्दा हस्पिटल (दमक), लुम्बिनी प्रदेशस्थित गुल्मीको विपद् व्यवस्थापन केन्द्र, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर, मनमोहन मेमोरियल सामुदायिक हस्पिटललगायत संस्थालाई एयरलाइन्सले पिसिआर परीक्षण गर्ने मेसिन, पोर्टेबल भेन्टिलेटर, इन्फ्रारेड थर्मामिटर, पिपिई आदि सहयोग गरिसकेको छ ।








Comments are closed.