पोखरामा चैत ३० देखि नववर्ष फेवा महोत्सव हुँदै

पोखरा । पोखरामा आयोजना हुने फेवा नववर्ष महोत्सवको तयारी तीव्र पारिएको छ । होटल संघ पोखरा नेपालले यही चैत ३० देखि वैशाख १ गतेसम्म लेकसाइडमा सञ्चालन गर्न लागेको महोत्सवमा धेरै दर्शक भित्र्याउने लक्ष्य रहेको छ ।

फेवा नववर्ष महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता रहने गरी कार्यक्रम गर्न गर्न विभिन्न उपसमितिका संयोजकले बताएका छन् । पोखराको ड्यामसाइड र खहरे बीचको सडकमा महोत्सव आयोजना हुनेछ । महोत्सव उपसमितिका संयोजकहरु संलग्न संघको बैठकमा संघ अन्तर्गतका सदस्य, प्रतिष्ठानका कर्मचारीहरु र आमा समूह तथा पर्यटकीय संघसंस्थाका व्यक्ति संलग्नतामा र्याली निकाली महोत्सवको उद्घाटन गरिने विषयमा छलफल भएको छ ।

महोत्सवका मूल संयोजक एवं आयोजक संघकाअ अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै महोत्सवको अवसरमा निकालिने र्याली तथा झाँकी विशेष रहने जानकारी दिए । लेकसाइडका सडकका विभिन्न ठाउँमा सांस्कृतिक नाचहरु हरेक दिन प्रदर्शन गरिने जानकारी पनि उनी बताउँछन् । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने संघले जनाएको छ । महोत्सवका अवसरमा आयोजक संघले पोखरा आउने पाहुनालाई होटलको प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने जानकारी यसअघि नै दिइसकेको छ ।

प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहनेछन् । व्याडमिन्टन कप, स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोकदोहोरी कार्यक्रम पनि प्रस्तुत हुनेछन् । फेवा महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रा.ली, सह प्रायोजक वरुण वेभरेज लिमिटेडको पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार लि. फोन पे, अन्नपुर्ण केवलकार, टोकला चिया छन् भने इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिका रहेको छ ।

सो अवसरमा संघको २० औं अधिवेशनबाट निर्वाचित भई २०८१ सालको कात्तिक ७ गतेसम्म सक्रिय समितिका पदाधिकारीलाई प्रशंशापत्र प्रदान गरिएको छ । यसअघि सम्पन्न संघका महोत्सव र कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सघाउ पुर्याउने एरिया संयोजकलाई मायाको चिनो प्रदान गरिएको छ ।संघका निवर्तमान अध्यक्ष विकल तुलाचन, संघका उपाध्यक्ष एवं महोत्सवका सहसंयोजकद्वय दीपक श्रेष्ठ र गणेशराज पहारी लगायतले आफ्ना भनाइ राखेको कार्यक्रमको सञ्चालन संघका महासचिव राजेन्द्र ढकालले गरेका हुन् ।

 

You might also like

Comments are closed.