पर्यटक सुरक्षाका लागि सरोकारवालाबीच छलफल

पोखरा । उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ ।

पदयात्रा र धार्मिक हिसावले हिमाली क्षेत्रमा पुग्ने पर्यटकको सुरक्षालाई केन्द्रमा राखेर मुस्ताङस्थित घरपझोङ गाउँपालिकाको आयोजना र होटल संघ पोखरा नेपालको समन्यमा कार्यक्रम भएको हो । खासगरी पछिल्ला वर्षहरुमा नेपालको सिमावर्ती तराई र सँगैका भारतीय शहरबाट पर्यटकहरु एकै दिनमा सिधै मुक्तिनाथको दर्शन गर्न जाने क्रम चलेपछि सरोकारवालाको ध्यानाकर्षण भएको हो ।

समुन्द्र सतहबाट एक सय मिटर हाराहारी उचाईमा रहेको तराई क्षेत्रबाट एकै दिन ३७१० मिटर उचाईको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यको लागि निकै नकारात्मक कुरा भएको व्यवसायीले चर्चा गरेका थिए । गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनले यस विषयलाई नीति निर्माण तहबाटै सुधार गर्न गण्डकी प्रदेश सभामा आफूले कुरा उठाउने प्रतिवद्धता सुनाए । अन्नपूर्ण क्षेत्रको मूल पर्यटन भनेको अन्नपूर्ण चक्रीय पदयात्रा मार्गमा आधारित पर्यटन भएको भन्दै उनले यस क्षेत्रका विभिन्न ठाउँमा पर्यटकले देख्ने र बुझ्ने गरी सूचना र सचेतनामुलक सामग्रीको व्यवस्था हुनुपर्ने सुझाव राखे ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालले अव पर्यटकको संख्यालाई भन्दा पनि गुणस्तरलाई ध्यान दिनुपर्ने सुझाव राखे । भारतीय पर्यटक रातारात एकै दिनमा मुक्तिनाथ पुगेर मुस्ताङ र पोखरा दुबै ठाउँमा रात नकाटी फर्कने परिपाटीले सुरक्षा जोखिम बढेको मात्र नभई बसाई अवधि पनि छोटिन पुगेको बताए । यस्तो जोखिम मोल्दा लेक लागेर कतिपय पर्यटकको ज्यान समेत गएको अध्यक्ष सुवेदीले स्मरण गराए ।

होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले पर्यटकलाई राम्रो सूचना प्रदान गरेर उनीहरुको बसाई अवधि लम्ब्याउन सकिने सुझाव राखे । यसका लागि पोखरामा एउटा पूर्वाधारयुक्त सूचना केन्द्रको आबश्यकता समेत उनले औंल्याए । पर्यटकको सुरक्षा, वातावरण संरक्षण र पर्यटकको बसाई अवधि लम्ब्याउने जस्ता विषय पर्यटनमा महत्वपूर्ण विषय भएको उनी बताउँछन् ।

होटल संघ नेपाल गण्डकीका अध्यक्ष एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक हरिप्रसाद शर्मा गैह्रेले पर्यटकलाई हतारमा उचाईमा पुर्याएर जोखिममा पार्ने प्रवृत्तिलाई निरुत्साहित पार्न केही दिन अघि आफ्नो संस्थाले एक विज्ञप्ति निकाली ध्यानाकर्षण गराएको स्मरण गराए । विषयलाई बाहिर ल्याउँदा समेत सरकारी पक्षबाट गंभिरतापूर्वक नलिइनु दुःखद भएको उनको भनाइ छ ।

आयोजक संस्था घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले छोटो समयमा एकैपटक होचो भूभागबाट २८०० मिटर माथीको उचाईमा पुग्नु जोखिमपूर्ण हुने विषय स्मरण गराए । यो विषय धेरै पर्यटकले समेत थाह नपाएको हुन सक्ने भन्दै उनले पर्यटकलाई आराम गर्दै, समय लिएर न्यानो कपडाका साथ उच्च भूभागमा जानुपर्ने विषय जानकारी गराउनुपर्ने भनाई राखे । समथल ठाउँबाट आउने कतिपय पर्यटकले उचाईमा पनि उस्तै त होला नी भन्ने खालको शोच राख्ने गरेको उनले सुनाए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा. रविन कडरियाले पर्यटकको सुरक्षाका लागि एक्याप सचेत रहेको बताए । एक्याप क्षेत्रमा २४५० होटल रहेको तथ्याङ्क दिंदै उनले त्यस क्षेत्रका व्यवस्थापन समितिसँग मिलेर एक्यापले काम गरिरहेको भनाइ राखे । अन्नपूर्ण क्षेत्र साहासिक पर्यटन क्षेत्र भएको भन्दै पर्यटकलाई त्यही अनुसारको तयारी गरेर आउने वातावरणका लागि सरोकारवालाहरु मिलेर काम गर्नुपर्ने सुझाव राखे ।

एक तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको थियो । मृत्यु हुनेमा ६ नेपालीसहित ८ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीजरल्याण्डका एक एकजना नागरिक रहेको तथ्याङ्क अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले बाहिर ल्याएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा सो जिल्लामा मात्र विस. २०८१ मा लेक लागेर ज्यान गुमाउनेहरुमा ८ जना भारतीय, २ जना नेपाली र १ जना अमेरिकी नागरिक रहेका छन् । यसरी ज्यान गुमाउनेहरु पनि भारतीय पर्यटककै संख्या बढी रहन गएको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पर्यटकको सुरक्षाका लागि सचेतनामूलक पुस्तिका वितरण गर्ने र आबश्यक ठाउँमा सूचनामूलक बोर्डहरु राख्दा उपयुक्त हुने सुझाव राख्दै यसका लागि बोर्ड सघाउन तयार रहेको प्रतिवद्धता जनाए । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स्) कार्डको अनिवार्य व्यवस्थाले पर्यटकको सुरक्षा बढ्ने भनाइ राखे । नाट्टा गण्डकीका उपाध्यक्ष राजेश पहारीले पर्यटकको सुरक्षाका लागि नीति र नियमन दुवै जरुरी भएको भनाइ राखे ।

होटल एवं पदयात्रा व्यवसायी हरि भुजेलले मुक्तिनाथ पुग्ने धार्मिक पर्यटकको स्वास्थ्यमाथि खेलवाड गर्ने व्यवसायी र समूहको पहिचान गरिनुपर्ने सुझाव राखेका छन् । टान गण्डकीका पूर्व अध्यक्ष धर्मराज पन्थीले सरकारले नै नीति ल्याएर पर्यटकको सुरक्षालाई निश्चित गरिनुपर्ने सुझाव व्यक्त गरे । नेपाल पर्यटक यातयात व्यवसायी संघ गण्डकीका अध्यक्ष दुर्गादत्त दाहालले पर्यटकलाई छोटो समयमा उचाइमा पुर्याउँदा हुने जोखिमबारे आफ्नो संस्थाले सरकारको ध्यानाकर्षण विगतमा गराइसकेको विषय स्मरण गराए ।

कार्यक्रममा व्यवसायीले पर्यटक बोकेर जाने सवारी चालकको बोलीबचन मर्यादित हुनुपर्ने विषय समेत राखेका थिए । कार्यक्रमको सञ्चालन घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरी अधिकारीले गरेका हुन् ।

You might also like

Comments are closed.