पोखरा । होटल संघ पोखरा नेपालले देशविदेशका पाहुनालाई पोखरा भ्रमणका लागि आग्रह गरेको छ । जेन–जी आन्दोलनका बाबजुद पोखरा सुरक्षित पर्यटकीय गन्तव्य रहेको भन्दै संघले पाहुनाको स्वागतका लागि व्यवसायी तमतयार रहेको सन्देश प्रवाह गरेको हो ।
नेपालीको घरआँगनमा भित्रिएको दशैँ पर्वको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा संघले पोखराका सञ्चारकर्मीमार्फत पाहुनालाई पोखराको वास्तविक र सकारात्मक चित्र प्रवाह गर्न आग्रह गरेको थियो । संघका अध्यक्ष लक्ष्मण सुवेदीले जेन–जी आन्दोलनका क्रममा पोखराका आधा दर्जन पर्यटकीय प्रतिष्ठानमा क्षति पुगेपनि अरु सबै पर्यटकीय संरचना यथावत र सेवा दिने अवस्थामा रहेको जानकारी गराए ।
“हामीसँग १२ सय होटलमा ४० हजार विस्तारा छन्” उनले भने–,“सयौँ रेष्टुराँ पनि सेवाका लागि तत्पर छन्, पोखरा आउने पाहुनालाई कुनै समस्या हुने छैन” । मुख्य पर्यटकीय मौसमको मुखैमा आएर जेन–जी आन्दोलन हुँदा पर्यटन उद्योग नकारात्मक रुपमा प्रभावित भएपनि यो विस्तारै पुरानै लयमा फर्कने आसा व्यवसायीले आशा व्यक्त गरेका छन् ।
होटल क्षेत्रमा मात्र नभई अन्य पर्यटकीय प्रतिष्ठान र सेवामा समेत व्यवसायी भारी छुट दिएर पाहुनालाई स्वागत गर्न तयार रहेको अध्यक्ष सुवेदीले बताए । काठमाडौं, चितवन र वुटवल लगायतका शहरबाट पोखरा जोडिने सडकहरु सुरक्षित र चुस्त रहेको स्मरण गराउँदै सुवेदीले काठमाडौंबाट अहिले ५ घण्टामा सडकमार्गबाट पोखरा आउन सकिने बताए ।
राति अवेर हवाई सेवामार्फत पोखरा पुग्ने इच्छा राखेका पर्यटकले समेत त्यस्तो सुविधा पाउने अवस्था रहेको उनले बताए । अहिले चाडवाडको मौसम सुरु भएको र यो मौसममा नेपालका विभिन्न ठाउँबाट पाहुनाहरु पोखरा घुम्न आउनेमा आफूहरु आशावादी रहेको सुवेदीले सुनाए ।
आन्दोलनसँगै उत्पन्न विषम परिस्थितिको क्रममा पोखराको पर्यटन शुन्यमा पुगेपनि आफूहरु पुनः उठ्नेमा विश्वस्त रहेको उनले बताए ।“विभिन्न विपत्ती र अफ्ठ्याराहरु सामना गर्दै, पुनः उठ्दै हामी आएका छौँ” एक भिडियो सन्देशमा सुवेदीले भनेका छन्,–“यो पटक पनि हामी पुनः उठ्ने छौँ, अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी दर २५ प्रतिशत हाराहारीमा रहेको जानकारी पनि संघका तर्फबाट दिइएको छ” ।
अहिले पोखराका हिमालहरु पनि खुल्न थालेको, पर्यटकहरु पदयात्रामा जाने आउने क्रम नरोकिएको र शान्तिसुरक्षा पनि पूर्ववत् अवस्थामा रहेकाले पोखरा भ्रमणका लागि संघले पाहुनालाई आग्रह गरेको हो । होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले पोखरा जीवित र चलायमान शहर भएको बताउँदै होटल, रेष्टुराँ र अन्य पर्यटकीय प्रतिष्ठान सेवाका लागि आतुर रहेको सन्देश जारी गरेका छन् ।
पोखरा निकै सुन्दर शहर रहेको भन्दै उनले एक भिडियो सन्देशमार्फत् यहाँको हरियाली र खुलेका हिमाल मुनी घुम्न र रमाउन आउनका लागि पाहुनालाई आग्रह गरेका छन् ।
Comments are closed.