पर्यटन विकास र सुरक्षाका लागि होटल संघद्वारा टोल संयोजक चयन

पोखरा । पर्यटन क्षेत्रको विकास र सुरक्षालाई मध्यनजर गर्दै होटल संघ पोखरा नेपालले पर्यटकीय लेकसाइड र ड्यासाइट क्षेत्रका विभिन्न सडक, सहायक सडक र टोलहरुलाई लक्षित गरी संयोजकहरु तोकेको छ ।

विभिन्न २८ वटा स्ट्रिट र ६ वटा टोललाई लक्षित गरी तोकिएका संयोजकले स्थानीय व्यवसायी र टोलवासीसँग छलफल गरी सदस्यहरु तोकेर उपसमिति बनाउनेछन् । तोकिएको स्ट्रिट बाहेक ड्यामसाइड, खहरेचोक, गैह्राचौतारा, हल्लनचोक, जरेबर र ठाडोपसल क्षेत्रमा समेत यस्ता संयोजक तोकिएको हो ।

संघको कार्यालय डिहिको पाटनमा हालै आयोजित व्यवसायीको भेलाले उल्लेखित संयोजकहरु तोकेको संघले जनाएको छ । जेन–जी विद्रोहपछि प्रभावित हुन पुगेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने, पर्यटक र व्यवसायी तथा टोलबासीको सुरक्षाको लागि संयोजकहरु तोकेर अगाडि बढिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

“पर्यटन क्षेत्रमा चोरीका घटनापनि फाट्टफुट्ट देखिन थाले”,–अध्यक्ष सुवेदीले भने “हाम्रो अभियान कसैप्रति लक्षित भन्दा पनि व्यवसायीको हकहित, पर्यटन विकास र पर्यटकको सुरक्षासँग सम्बन्धित छ ।” व्यवसायीलाई जागरुक बनाउने र पर्यटकलाई गुणस्तरीय सेवा दिन समेत आफूहरु एकजुट भएको अध्यक्ष सुवेदीले बताए ।

सबै होटल र टोलका सीसीटीभी क्यामेरा चालु अवस्थामा राख्ने, बिग्रेका क्यामेरा र प्रणालीको मर्मत गर्ने, सुरक्षाकर्मीको आत्मबल बढाउन मद्दत गर्ने, सुरक्षाका लागि सहकार्य गरेर अगाडि बढ्ने, सडक वत्तीको मर्मतसम्भार र खाल्डाखुल्डी परेका सडकलाई मर्मत गर्न समेत तोकिएका संयोजक र उपसमितिले सघाउने संघले जनाएको छ ।

 

You might also like

Comments are closed.