होटल दा फ्लेमिंगो सञ्चालनको पूर्व सन्ध्यामा विभिन्न सामाजिक कार्यक्रम

बुटवल । बुटवलमा रहेको होटल दा फ्यामिंगोले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत विभिन्न कार्यक्रम गरेको छ । होटलको सफ्ट ओपनिङको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रम गरिएको हो ।

यसैक्रममा शनिबार बुटवलको देवीनगरमा रहेको नेपाल अपाङग आश्रममा आश्रितलाई होटलको तर्फबाट खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ । होटलको सफ्ट ओपनिङ यही फागुन २७ गते शिवरात्रिको दिनबाट हुँदैछ ।  होटलमा पकाएको खाना पहिलो पटक आश्रममा आश्रितलाई खुवाइएको होटलले जनाएको छ ।

होटलका अध्यक्ष तथा सञ्चालक दिलीप गौचन, महाप्रवन्धक काशीराम अधिकारी, हेड अफ डिपार्टमेन्ट, कर्मचारी लगायतको उपस्थितिमा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको हो ।

यस अगाडि होटलको आयोजनामा गत साता रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व बहनलाई प्राथमिकतामा राखेर होटल अगाडि बढ्ने अध्यक्ष गौचनले बताए ।

बुटवलको योगीकुटीमा निर्माण भएको होटलको सफ्ट ओपनिङका लागि सम्पूर्ण तयारी पुरा भएको महाप्रवन्धक अधिकारीले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याउन लागिएको उनले बताए । होटलमा स्विट, जुनियर स्विट, सुपर डिलक्स र डिलक्स गरी चार क्याटागोरीका ५१ वटा रुम छन् ।

होटलमा ४ सय जना क्षमताको एउटा बैंक्युट हल छ भने २ वटा कन्फ्रेन्स हल छन् । कन्फ्रेन्स हल सय जना क्षमताको र ३० जना क्षमताको छ । होटलमा स्विमिङ पुल, जिम, स्पा, साउना, स्टिम लगायतको सेवा उपलब्ध छन् । होटलमा पर्याप्त पार्किङको सुविधा छ ।

होटलमा लाफेवा रेष्टुरेन्टमा ७० जनाको क्षमता रहनेछ भने क्याफेट्वान्टी फोरमा कफी, बेकरी आइटमको सुविधा उपलब्ध हुनेछ । भर्टिगो रुफटप बारमा ४० जना क्षमता रहनेछ ।

You might also like

Comments are closed.