लकडाउनले बन्द रहेको पाँचतारे होटल ग्राण्ड बिहीबारबाट सञ्चालन हुँदै

पोखरा । गण्डकी प्रदेशको एकमात्र पाँचतारे होटल पोखरा ग्राण्ड अक्टोबर १५ (असोज २९) बिहीबारबाट पुनः सञ्चालनमा आउने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का आह्वान गरिएको लकडाउनसँगै चैत दोस्रो साताबाट बन्द भएको होटल करिब ७ महिनापछि पुनः सञ्चालनमा आउन लागेको हो ।

सरकार र डब्लुएचओद्वारा जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी होटल सञ्चालनको तयारी गरिएको महाप्रवन्धक रोशन खवासले आर्थिक आवाजलाई जानकारी दिए । ‘होटल प्रवेश गर्नासाथ सम्पूर्ण सवारी साधन तथा लगेजलाई सेनिटाइन गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘पाहुनाको खुट्टा र हात सेनिटाइज गरी तापक्रम नापेपछि मात्रै प्रवेशको व्यवस्था गर्नेछौं ।’

होटलमा प्रवेश गर्दा माक्स अनिवार्य गरिएको छ । रेष्टुरेन्टमा सामाजिक दुरी कायम गरिने खवासले जानकारी दिए । ‘रुमहरु पूर्ण रुपमा सेनिटाइज गरेका छौं,’ उनले भने, ‘सरसफाईलाई हामीले प्राथमिकतामा राखेका छौं ।’

होटलमा १ सय ४० वटा रुम छन् । ५ वटा बैङक्युट हल, २ वटा रेष्टुरेन्ट, २ वटा बार, आउटडोर स्विमिङ पुल, स्पा, हेल्थ क्लब लगायतको सुविधा होटलमा छ । पर्याप्त पार्किङ तथा पर्याप्त गार्डेन स्पेस रहेको होटल पोखरा ग्राण्ड आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्दै आएकोछ । ‘अब पुनः पर्यटकलाई सेवा प्रदान गर्न तयारी अवस्थामा रहेका छौं,’ उनले भने ।

You might also like

Comments are closed.

skip