पोखरा । पोखराको सृजना चोकस्थित साइमोन पार्टी प्यालेसमा सम्पन्न Hult Prize 2026 at Institute of Forestry को ग्राण्ड फिनालेमा टोली इको–उपयोग विजेताका रूपमा घोषित भएको छ । सामाजिक उद्यमशीलतामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित आयोजित उक्त प्रतियोगितामा टोली AB Sparks पहिलो रनर-अप र टोली Apex Titans दोस्रो रनर-अप बनेका छन् ।
प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूलाई सामाजिक समस्याको समाधान खोज्ने, नवप्रवर्तनात्मक सोच विकास गर्ने तथा उद्यमशील नेतृत्व क्षमतामा सशक्त बनाउनु रहेको आयोजकले जनाएको छ । विजेता टोली इको–उपयोगमा आयुष बास्ताकोटी (कप्तान), कृतिका पराजुली र सुशान्त पौडेल सदस्य रहेका छन् । पहिलो रनर-अप टोली AB Sparksमा अनुशा सापकोटा (कप्तान), अनु पौड्याल खत्री, भीम माया नेपाली र अञ्जना खनाल सहभागी थिए भने दोस्रो रनर-अप टोली Apex Titansमा ताशी गुरुङ (कप्तान) र अलिना बी.के. रहेका थिए ।
प्रतियोगिताको मूल्यांकन युवा सामाजिक उद्यमी सन्तोष पौडेल, युवा नेता तथा सामाजिक नवप्रवर्तनकर्ता दिनकर नेपाल, र महिला उद्यमी तथा पेशागत होस्ट रोजिना श्रेष्ठ सम्मिलित निर्णायक मण्डलले गरेका थिए । निर्णायकहरूले प्रत्येक टोलीको प्रस्तुति सामाजिक प्रभाव, नवप्रवर्तन, व्यावहारिकता र दिगोपनाका आधारमा मूल्यांकन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिका रूपमा लेखनाथ चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष जनुका पराजुली अधिकारीले सहभागीहरूलाई उद्यमशील सोच र सामाजिक उत्तरदायित्वप्रति प्रेरित गरेका थिए ।
कार्यक्रम Campus Director आशिष पोखरेल र Deputy Campus Director प्राप्ति लम्सालको नेतृत्वमा सम्पूर्ण आयोजन समितिद्वारा सफलतापूर्वक सम्पन्न गरिएको हो । पुरस्कार वितरण समारोहमा विजेता तथा रनर-अप टोलीहरूलाई नगद पुरस्कारका साथै विभिन्न आकर्षक भौचर र सामग्री पुरस्कार प्रदान गरिएको थियो ।
विजेता टोली इको–उपयोगले नगद १०,००० रुपैयाँ, Bungy Nepal बाट दुई सदस्यका लागि बन्जी राइड, Hangry Gen बाट खाद्य भौचर, Info-chip Pvt. Ltd. बाट गिफ्ट ह्याम्पर, Annapurna Cable Car को फ्री भौचर, Good Will Driving School बाट ५० प्रतिशत छुट भौचर, Cake Rosemary को ५०० रुपैयाँको भौचर तथा Three Angles बाट T-Shirt प्राप्त गरेको थियो। पहिलो रनर-अप टोली AB Sparksले नगद ५,००० रुपैयाँ, अन्नपूर्णा केबल कार भौचर, क्यानियोनिङ, भोजन तथा आवास भौचर र 3 Angles Community Radio बाट T-Shirt प्राप्त गरेको थियो भने दोस्रो रनर-अप टोली Apex Titansले नगद ३,००० रुपैयाँ, Fewa Water Sports बाट कायकिङ भौचर, अन्नपूर्णा केबल कारको भौचर र Three Angles बाट T-Shirt प्राप्त गरेको थियो ।
क्याम्पस विजेता टोली इको–उपयोगले अब केही महिनाभित्र काठमाडौँमा आयोजना हुने Hult Prize Nepal 2026 को राष्ट्रिय चरणमा वन विज्ञान अध्ययन संस्थानको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछ । यस कार्यक्रमले विद्यार्थीहरूमा उद्यमशीलता, सिर्जनात्मकता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ छ । विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको Hult Prize ले युवाहरूलाई नवप्रवर्तन र सामाजिक उद्यममार्फत समाज परिवर्तन गर्ने अवसर प्रदान गर्दै आएको छ भने यसले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना विचार प्रस्तुत गर्ने प्लेटफर्म पनि उपलब्ध गराएको छ ।




Comments are closed.