विपद्मा पनि काममा आएन हुम्दे विमानस्थल

नवीन लामिछाने, मनाङ । बाढीपहिराको जोखिममा परेको हिमाली जिल्ला मनाङ विगत डेढ महिनादेखि सडक सञ्जालबाट पूर्णरुपमा विच्छेद छ । मनसुन सक्रिय हुनुअगावैदेखि बाढीले पुल बगाउँदा मनाङ सडक सञ्जालबाट विच्छेद छ ।

असार लागेसँगै बाढीपहिराले सडकदेखि बजार र बस्तीमा समेत क्षति पुग्दा सडक सञ्जालबाट टाढिएको छ । वर्षा न्यून भएपछि सडक सञ्जाल मर्मतको काम थालिएको छ । मनाङलाई दशैँसम्म सडक सञ्जालसँग जोड्ने प्रयास भइरहे पनि त्यति सहज भने छैन । सडक सञ्जालबाट विच्छेद हुँदा यहाँका नागरिकलाई राहत पु¥याउन र अत्यावश्यक सेवाका लागि आवतजावत गर्न नसकिएको स्थानीयवासीको भनाइ छ । सडक सञ्जालबाट टाढिएपछि आवतजावत र अत्यावश्यक सामग्री ढुवानीका लागि हवाई मार्गबाहेक अन्य विकल्प नै छैन तर, बाढीपहिराले क्षतिग्रस्त पैदल हिँडडुलसमेत रोकिएको अवस्थामा विमानस्थल उपयोग गर्नसमेत पाएनन् । विपद्मा सहज बनाउने विमानस्थलतर्फ कसैको चासो पुगेन ।

विमानस्थल सञ्चालनमा नहुँदा हेलिकप्टर चार्टर गरेर महँगोमा दैनिक उपभोग्य वस्तु ढुवानी हुँदै आए पनि हवाई सेवा सञ्चालन गरी एकैपटक धेरै परिमाणमा उपभोग्य वस्तु ल्याउनसमेत कसैको ध्यान पुग्न सकेको छैन । राज्यले समेत विपद्मा विमानस्थल सञ्चालन गरी जहाजमार्फत सामान ढुवानी गराएर सहज बनाउने विकल्पतर्फ ध्यान दिन नसकेको पर्यटन व्यवसायी विनोद गुरुङले बताए । अप्ठ्यारो अवस्थामा विमानस्थलसमेत उपयोग गर्ने ध्यान नपु¥याउँदा दुखित बनाएको उनको भनाइ छ ।

MANASLU

समुद्री सतहदेखि ११ हजार १४५ फिट उचाइमा हुम्दे विमास्थल छ । विमानस्थलभन्दा माथिल्लो क्षेत्रले जिल्लाको करिब आधा जनसङ्ख्याले यो अवस्थामा सहजै लाभान्वित हुने भए पनि उपयोग नहुँदा नागरिकको दैनिकी कठिनपूर्ण बन्दै गएको गुरुङले बताए । “गाडी नै नचलेको दुई महिना कटिसक्यो । अझै केही महिना मनाङमा गाडी चल्ने अवस्था देखिएको छैन । यस्तो अवस्थामा भएको एकमात्र विमानस्थल प्रयोगमा ल्याउनतर्फ चासो देखाउनुपर्ने हो”, उनले भने, “विमानस्थल प्रयोगमा ल्याउनका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले चासो दिएका छैनन् ।”

हाल मनाङमा खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको अभाव छ । कतिपय दाताले महँगोमा हेलिकप्टर चार्टर गरेर राहतका सामग्री पु¥याइरहेका छन् । यस्तो अवस्थामा जहाजको उडान भएको भए केही सस्तोमा सामान ढुवानी हुने थियो तर, त्योबारेमा कसैले चासो नदिएको स्थानीयवासी याङदुङ गुरुङले बताए । “पोखराबाट हेलिकप्टरमा सामान ढुवानी गर्दा प्रतिकिलो रु २५० पर्छ, हेलिकप्टरले एकैपटक धेरै तौल बोक्न पनि सक्दैन”, उनले भने, “यो अवस्थामा जहाजमा सामान ल्याउन सकेको भए केही सस्तो पर्ने थियो, जहाजले एकैपटक धेरै तौल पनि बोक्ने हुँदा सस्तो पर्न जान्थ्यो ।”

खाद्यान्न ल्याउनुबाहेक जहाज चलेमा बिरामीलाई उपचारमा पनि केही सहज हुने उनको भनाइ छ । यहाँका मानिस बिरामी परे महँगोमा हेलिकप्टर चार्टर गरेर अस्पताल पु¥याउनुपर्ने बाध्यता रहेको उनले बताए । अप्ठ्यारोमा पनि भएका पूर्वाधार उपयोग गर्न मनाङवासी चिन्तित छन् । यसअघि पनि बारम्बार मनाङमा नियमित उडान गर्न भनेर राज्यका निकायमा ताकेता गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ । “पाँच हजार ४१६ मिटर उचाइको थोराङ्ला भञ्ज्याङ पार गरी खच्चडको प्रयोग गरेर सामान ल्याउने गरेका छौैँ, गाडीमार्फत ल्याउँदा प्रतिकिलो रु १० ढुवानी गर्न सक्ने भए पनि खच्चडको माध्यमबाट ल्याउँदा रु ४० पर्छ”, याङदुङले भने ।

मनाङ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष कान्छा गुरुङले पनि गाडी नचल्दाको विकल्प हवाई जहाज भए पनि विमानस्थल भएर पनि उपयोगमा नआएको बताए । “गाडी नचल्दाको समयमा हवाईजहाज चल्न पाएको भए नागरिकको आउजाउ र सामग्री ढुवानीमा सहज हुन्थ्यो तर, त्यतातिर कसैको ध्यान गएन”, उनले भने, “मनाङमा गाडी पुग्नुभन्दा पहिला यहाँका नागरिकको शहरसम्मको आउजाउको विकल्प विमान थियो । उति बेला कच्ची धावनमार्गसहितको विमानस्थलले थेगेको जिल्लाको यातायात अहिले कालोपत्र धावनमार्गको विमानस्थल हुँदासमेत उपयोग भएन ।”

उनले भने, “कम्तीमा जहाजमा ल्याएर सामान थुप्रो लगाउन सकेको भए विपद्मा सबैलाई सहज हुन्थ्यो ।” विमानस्थल चलाउनुपर्छ भनेर स्थानीयवासीले बारम्बार भन्दै आए पनि कसैले नसुनेको उनको भनाइ छ । “हामीले भनेको सुन्दैनन्, नेतामार्फत पुग्नुपर्ने निकायमा यससँग सम्बन्धित पक्षले कुरा उठाउँदैनन्”, उनले भने ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले पर्यटन मन्त्रालयलाई विमानस्थल चालू गर्न सकिनेबारे पत्र पठाएको छ तर, त्यसबारेमा खासै प्रगति भएको पाइएन । विमानस्थल भएको हुम्देबाट सदरमुकाम चामे पैदल करिब छ घण्टाको दूरीमा छ । चामे र हुम्देबीच पनि बाटो पहिराले लगेको छ तर, तल्लो भेगमा भन्दा माथिल्लो भेगमा क्षति कम छ ।

अहिले हुम्दे र चामेबीचको आवतजावत सहज छैन । “हुम्देबाट तल आउन नसके पनि जहाज चल्दा माथिल्लो भेगलाई त सहज हुन्थ्यो, हामीले चासो देखाएर पर्यटन मन्त्रालयमा पत्र पनि पठाएका छौँ, निजी क्षेत्रका हवाई कम्पनीसँग समन्वय गर्ने भनियो, तर पूरा भएन”, प्रजिअ लामिछानेले भने । उनका अनुसार दशैँअघि मनाङमा मोटरको आवतजावत हुने सम्भावना छैन । त्यसैले यतिबेला विमानस्थल प्रयोग गर्न सकेर हवाईमार्गमार्फत यातायात र ढुवानी बढाउन सके सहज हुन्छ ।

“पूरै मनाङवासीले विमानस्थलको उपयोग गर्न नपाए पनि आधा जनसङ्ख्यालाई सहज हुने थियो तर, सदरमुकामसँग जोड्न नसकेकाले फोकस नभएको हो, अहिलेको अप्ठ्यारोमा पनि विमानस्थललाई उपयोग गर्न सकिएको छैन”, उनले भने । पोखरादेखि ४९ नटिकल माइल ९९०।७४ किमि० टाढाको हुम्दे सामान्य अवस्थामा पोखरादेखि १६ देखि १८ मिनेटमा पुगिन्छ । हिमाली जिल्ला मनाङको हुम्दे विमानस्थल दशक अघिसम्म नियमित सञ्चालनमा थियो । विमानस्थल सञ्चालन हुँदासम्म सातामा तीन वटासम्म उडान हुन्थे । पोखरा र काठमाडौंबाट हुम्देमा सिधा उडान हुन्थ्यो । त्यसबेला मनाङ जोड्ने एकमात्र यातायातको साधनको रुपमा हवाइजहाज मात्र थियो ।

कच्ची धावनमार्ग हुञ्जेल नियमितजसो चलेको विमानस्थलमा दशकअघि धावनमार्ग कालोपत्र भएपछि भने उडान हुन सकेको छैन । ‘सेड्युअल फ्लाइट’ नभएको कम्तीमा पनि आठ वर्ष बितिसकेको छ । प्राधिकरणले धावनमार्ग कालोपत्र गरेर स्तरोन्नती गरेपछि हुम्दे विमानस्थल बाह्रै महिना सञ्चालन गर्न सक्ने योग्य भएको थियो । कालोपत्र गर्ने क्रममा ६०० मिटरबाट बढाएर ९०० मिटर लामो धावनमार्ग बनाइएको थियो तर, करिब रु नौ करोड लगानी गरेर कालोपत्र धावनमार्गसहितको विमानस्थल हाल अलपत्र छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...