हुन्डाईका एसयूभीमा ग्राहकको आकर्षण बढ्दो

काठमाडौं । भारतीय बजारमा हुन्डाईका एसयूभीप्रति ग्राहकको आकर्षण बढ्दो रहेको छ । बजारमा माग बढेसँगै हुन्डाईको कुल व्यापारमा एसयूभीको हिस्सा झण्डै तीन चौथाई पुगेको हो ।

यस आर्थिक वर्षको दोस्रो त्रैमासिक (जुलाइ–सेप्टेम्बर) मा हुन्डाईको कुल बिक्रीको ७१ प्रतिशत हिस्सा एसयूभीले ओगटेको हो । हुन्डाईले आर्थिक वर्ष २०२६ को दोस्रो त्रैमासिकमा कुल ९९ हजार २२० एसयूभीहरू बेचेको छ । जुन अघिल्लो वर्षको तुलनामा ७१ प्रतिशत धेरै हो ।

हुन्डाईको एसयूभी पोर्टोेफोलियोमा एक्स्टर, क्रेटा, भेन्यू जस्ता मोडेलहरू रहेका छन् । भारतीय ग्रामीण क्षेत्रमा यी एसयूभीहरूको माग ठूलो रहेको छ । ग्रामीण क्षेत्रका ग्राहकले हुन्डाईका डिजेल एसयूभीहरू धेरै मन पराएका छन् । आर्थिक वर्ष २०२५ को दोस्रो त्रैमासिकमा डिजेलबाट चल्ने सवारी साधनको कुल बिक्रीको २३ प्रतिशत हिस्सा रहेकोमा यस वर्ष २४ प्रतिशत योगदान पुर्याएको छ ।

ग्रामीण बजार बिक्रीमा एसयूभीको हिस्सा ७२ प्रतिशत रहेको छ, जुन शहरी बजारको तुलनामा थोरै बढी हो । हुन्डाई इन्डियाले दोस्रो त्रैमासिकमा घरेलु बजारमा कुल १ लाख ३९ हजार ५२१ युनिट खुद्रा बिक्री गरेको थियो । यस त्रैमासमा निर्यात २१.५ प्रतिशतले वृद्धि भएको छ । हुन्डाईले गत त्रैमासिकमा भारतबाट ५१ हजार ४०० युनिट निर्यात गरेको थियो ।

You might also like

Comments are closed.