गल्याङ (स्याङ्जा) । गल्याङ नगरपालिकाभित्रका कक्षा १० मा अध्ययनरत विद्यार्थीका लागि साक्षरता तथा विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आईसिएफसी फाइनान्स लिमिटेड गल्याङ शाखाको आयोजनामा नगरपालिकाभित्रका विद्यालयका एसइई परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरी निःशुल्क अनलाईन शिक्षा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले विद्यार्थीलाई सकारात्मक सोँच, उर्जा र समाजप्रति चेतनासहित अध्ययनमा लाग्न आग्रह गरे । वित्तीय ज्ञान विद्यालय जीवनमै प्राप्त भएमा भविष्यमा जिम्मेवार नागरिक बन्न सजिलो हुने उनी बताउँछन् ।
आईसिएफसी फाइनान्सको पहलमा एम्बिसन ग्रुपमार्फत सञ्चालित अनलाईन कक्षा सम्बन्धी जानकारी दिइएको छ । सो अवसरमा घुन्सा फाउन्डेशनकी संस्थापक याङजोम शेर्पाले विद्यार्थीलाई अध्ययनमा निरन्तरता र लगनशिलता आवश्यक रहेको बताए ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भविश्वर घिमिरे, वडा नम्बर–३ का वडाध्यक्ष कृष्ण भट्टराई, वडा नम्बर–४ का वडाध्यक्ष ढाकाराम न्यौपाने, वडा नम्बर–८ का वडाध्यक्ष झिमबहादुर थापा, आईसिएफसी फाइनान्स पोखराका शाखा प्रबन्धक सुजेस पन्त लगायतले विद्यार्थीलाई वित्तीय चेतना दिन यस्ता कार्यक्रम आवश्यक भएको र निरन्तरता दिलाउनुपर्ने धारणा राखेका छन् ।
आईसिएफसी फाइनान्स गल्याङका शाखा प्रबन्धक सन्दीप अधिकारीको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन खगेन्द्र भण्डारीले गरेका हुन् । आईसिएफसी फाइनान्सका मार्केटिङ प्रमुख सन्जोग गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो । नगरपालिकाका १९ विद्यालयका कक्षा १० का ३२४ विद्यार्थीको उत्साहजनक सहभागिता रहेको जनाइएको छ ।
Comments are closed.