काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले विदेशी पर्यटकलाई लक्षित गरी नयाँ बीमा योजना ल्याएको छ । कम्पनीले Himalayan Guardian Nepal (HGN) ट्रेकिङ तथा सुरक्षा उपकरण व्यवस्थापन कम्पनीसँगको सहकार्यमा नेपालमा आउने विदेशी पर्यटकको सुरक्षा र विश्वासलाई प्राथमिकता दिँदै सो योजना ल्याएको हो ।
नेपालको विभिन्न भागमा घुम्न, पदयात्रा र हिमाल आरोहणको लागि आउने विदेशी पर्यटकले अब नेपालमा अवतरण गर्नासाथ सुरक्षित बीमालेख प्राप्त गर्नेछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठले नेपाललाई अझै सुरक्षित पर्यटन गन्तव्य बनाउनका लागि नयाँ बीमालेखको सुरुवात गरिएको जानकारी दिए ।
“कम्पनीले तीन तहको सुरक्षा प्रदान गर्नेछ, पहिलो साँस्कृतिक भ्रमण र शैक्षिक भ्रमण, दोश्रो पदयात्रा र तेश्रो हिमाल आरोहणको लागि फोकस गरेर बीमालेखको सुरुवात गरिएको हुँदा पर्यटकहरु सुरक्षित र ढुक्क भएर यात्रा गर्न सक्नुहुनेछ, यात्राको क्रममा केही त्यस्तो दुर्घटना हुन गएमा सहज र नगदरहित औषधोपचार समेत यस बीमालेखमा व्यवस्था गरिएको छ” उनले भने ।
यस बीमालेख खरिद गर्ने प्रत्येक पर्यटकसँग सेटेलाईटजडित विशेष उपकरण उपलब्ध रहेकाले आपतकालिन अवस्थामा यात्रुले सिधै बटन थिचेर तुरुन्तै उद्धारको लागि सेवा प्रदायक र चिकित्सकसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने सुबिधा रहेको छ । घाइते पर्यटकको अवस्था हेरी तुरुन्त सहज रुपमा स्थलमार्ग तथा हेलिकप्टर सेवासहित अस्पतालमा औषधोपचार गराउन सकिनेछ । ढुक्क भएर सुरक्षित साथ हरेक पर्यटकले नेपालको हरेक क्षेत्रमा घुम्न, दृष्यावलोकन, पदयात्रा अथवा हिमाल आरोहण गर्न सकिने कम्पनीले जनाएको छ ।
बीमालेख अन्तर्गत हुने कभरेजहरु,
१.आपतकालीन उद्धार खर्च – हेलिकप्टर वा स्थलमार्गद्वारा गर्ने उद्धार सेवाको खर्च समावेश ।
२.चिकित्सा खर्च – अस्पताल उपचार, शल्यक्रिया, औषधि र अन्य स्वास्थ्य सेवामा हुने खर्च ।
३.उच्च जोखिम क्षेत्र/उचाइजन्य सुरक्षा – विभिन्न उचाइमा हुने स्वास्थ्य समस्या वा जोखिमलाई कभरेज ।
४.अपाङ्गता वा मृत्यु लाभ – दुर्घटनाबाट स्थायी अपाङ्गता वा मृत्यु भएमा प्रदान गरिने बीमा रकम ।
५.२४ सैँ घण्टा आपतकालीन सहायता सेवा – बहुभाषिक हेल्पलाइन र अन्तर्राष्ट्रिय उद्धार संस्थामार्फत निरन्तर सहायता ।
कम्पनीले यस बीमालेखको माध्यमबाट नेपालको पर्यटकको संख्या र पर्यटकको बसाई अवधि लम्ब्याउन मद्दत पुग्ने विश्वास लिएको छ । पर्यटन क्षेत्रमा नेपालले अझै प्रगति हासिल गर्ने र नेपाल एक सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विश्वसामु परिचित हुने अपेक्षा गरिएको छ । बीमालेख नेपालमा दर्ता भएका पदयात्रा तथा पर्यटन एजेन्सीमार्फत सहजै खरिद गर्न सक्ने व्यवस्था रहेको छ ।
Comments are closed.