lcci festival

इन्ड्राइभ आइसिटी अवार्ड २०२५ सम्पन्न, १७ विधामा प्रविधि क्षेत्रका स्टार्टअप

काठमाडौँ । दशौँ संस्करणको रुपमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले ललितपुरको पुलचोकस्थित द प्लाजामा सम्पन्न भएको छ ।  लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रविधि क्षेत्रमा उत्कृष्ट काम गरिरहेका स्टार्टअप, इन्नोभेसन, उद्यमी, व्यक्ति तथा संस्थाहरूलाई विभिन्न १७ विधामा अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल उद्घाटन समारोहमा उपस्थित भए भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले समापन समारोहमा सहभागिता जनाएका थिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ, मुख्यसचिव समुनराज अर्याल लगायत विभिन्न संवैधानिक आयोगका प्रमुखहरू पनि कार्यक्रममा उपस्थित थिए। नेपाल सरकारका मन्त्रालय, विभाग तथा निकायका उच्च अधिकारी, उद्यमी, सीईओ, र देशभित्र तथा विदेशबाट १५०० भन्दा बढी प्रविधि क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए ।

७५० भन्दा बढी अनलाइन नोमिनेसनबाट १८ जना जुरी सदस्य र १६ सल्लाहकार समितिले चार महिनाको छनोट प्रक्रिया गरी विजेताहरू घोषणा गरेका थिए। व्यक्तिगत अवार्डमध्ये नेपाली डायस्पोरा आइसिटी अवार्ड दिनेश सिलवालले प्राप्त गरेका छन् भने आन्टरप्रेनर अवार्ड विभुषण विष्टले जितेका छन् ।

पायोनियर अवार्ड डा. एलेन बैलोचन तुलाधर, प्रोफेसनल एक्सिलेन्स रामकृष्ण परियार, वुमन आइकन मुन्नी राजभण्डारीले प्राप्त गरेकी छन् । संस्थागत अवार्डमा डिजिटल गभर्नेन्स सामाजिक सुरक्षा कोष, डिजिटल सर्भिसेस (इन्टरप्राइज) एनएमबी बैंक, डिजिटल सर्भिसेस (नियो) एम्बिसन गुरू, डिजिटल एजुकेशन (पब्लिक) नारायणी माध्यमिक विद्यालय, डिजिटल एजुकेशन (प्राइभेट) कोपिला भ्याली स्कुलले जितेका छन् ।

स्टार्टअप तथा इन्नोभेसन विधामा आर्कबो टेक्नोलोजिज, क्विकसीसीए, माइण्डब्रिज, कताहो, ट्रिप टर्बो प्रालि, वायुदृष्टि र प्रियोशप, बंगलादेशले पुरस्कार प्राप्त गरे। सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरू पनि प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२५ अन्तर्गत सम्मानित भए । आयोजक तथा अध्यक्ष राजन लम्सालले १० वर्षदेखि प्रविधि क्षेत्रमा नवप्रवर्तन र इकोसिस्टम निर्माणमा लागिरहेको बताए । मन्त्री खरेलले डिजिटल रोडम्याप जारी गर्ने र प्रविधि क्षेत्रलाई राष्ट्रिय विकाससँग जोड्नुपर्ने बताउँदै आगामी निर्वाचनमा डिजिटल नेपालका भिजनका साथ नेतृत्व चयन गर्न आग्रह गरे ।

मन्त्री सिन्हाले प्रतिस्पर्धात्मक र दिगो उद्योग विकासका लागि आइसिटीको महत्व स्पष्ट पारे । कार्यक्रममा गायक हेमन्त शर्मा, रचना रिमाल, प्रभात लामा लगायतको सांगीतिक र कमेडी प्रस्तुति पनि रहेको थियो । विजेताहरूलाई ट्रफी, प्रमाणपत्र, सफ्टवेयर लाइसेन्स, एडब्लुएस क्रेडिट, आकर्षक गिफ्ट र एआई छात्रवृत्ति प्रदान गरिएको थियो। यसरी ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५’ले नेपालमा प्रविधि क्षेत्रको विकास, नवप्रवर्तन र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

You might also like

Comments are closed.