गण्डकी । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले सञ्चालन गरेको डढेलो र वन्यजन्तु आक्रमण बीमा पीडित परिवारका लागि सहारा बनेको छ । वनमा लाग्ने डढेलो नियन्त्रण तथा वन्यजन्तुको आक्रमणका कारण ज्यान गुमाएका परिवार र घाइते व्यक्तिले महासङ्घले गरेको बीमामार्पmत प्राप्त रकमबाट उपभोक्ताले केही हदसम्म भए पनि राहतको महसुस गरेका हुन् ।
मुलुकमा बर्सेनि हिउँदका समयमा सामुदायिक वनमा लाग्ने डढेलो एवम् वन्यजन्तु आक्रमणबाट जनधनको क्षति हुने गरेको हुँदा महासङ्घले दुःखमा परेका उपभोक्ताको राहतका लागि २०७५ सालदेखि बीमाको व्यवस्था गर्दै आएको छ ।
पीडित परिवारलाई एक लाख रुपैयाँ र घाइतेको उपचारका लागि १० हजारको बीमा गरिएको महासङ्घका केन्द्रीय सचिव ठाकुर भण्डारीले जानकारी दिए । उनका अनुसार नेपाल सरकारबाट वन्यजन्तुको आक्रमणबाट मृत्यु हुने प्रतिव्यक्तिको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउँदै आएको छ । सरकार र महासङ्घद्वारा गरिएको बीमाको दोहोरो नपर्ने गरी पीडितले सुविधा पाउने व्यवस्था गरिएको छ ।
मुलुकभरिका सामुदायिक वन समूहका उपभोक्ताको ५० जनाको मृत्यु तथा १ सय जनासम्मको घाइते उपचारका लागि महासङ्घले वार्षिक चार लाख
रुपैयाँ बराबरको प्रमु बीमा कम्पनीसँग सम्झौता गरेको उनको भनाइ छ ।
महासङ्घले चालु आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट ज्यान गुमाएका एकजनासहित वनमा लागेको आगो नियन्त्रणमा परी सातजनाको मृत्यु भएकामा पीडित परिवारले बीमामार्फत जनही १/१ लाख रुपैयाँ प्राप्त गरेको जनाउँदै उनले भने, “वन्यजन्तुको आक्रमणबाट पाँच र डढेलोबाट घाइते भएका १७ जनाले १० हजार रुपैयाँ दरले बीमाबापतको उपचार खर्च सम्बन्धित जिल्ला महासङ्घमार्पmत प्राप्त गरिसकेका छन् ।”
आगलागी र वन्यजन्तुबाट बर्दिया बाजुरा, सुर्खेत, पाल्पा, डोटी, गोरखा, मोरङ, अछाम, रुकुम पश्चिम, खोटाङ, बाँके, खर्घाखाँची लगायतका विभिन्न जिल्लाका १३ जनाको मृत्यु भएको र नौजना घाइते भएका व्यक्ति तथा परिवारले बीमाबापतको सुविधा प्राप्त गरेका थिए । जसमा आगलागीमा परी सातजनाको मृत्यु र आठजना घाइते भएका थिए भने वन्यजन्तुको आक्रमणबाट पाँचजनाको मृत्यु र एकजना घाइतेले सुविधा लिएका थिए ।
Comments are closed.