अल्पसङ्ख्यक र विपन्नको स्वास्थ्य बीमा गराउँदै स्थानीय तह

दमौली ।  तनहुँका स्थानीय तहले अल्पसङ्ख्यक र विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएका छन् । जिल्लाका विभिन्न पालिकाले चालु आर्थिक वर्षमा त्यस्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएका हुन् । देवघाट गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकाको चालु आवमा अल्पसङ्ख्यक जातिको बीमा गर्नका लागि बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाभित्र बसोबास गर्ने बोटे, बराम र चेपाङ परिवारको स्वास्थ्य बीमा गरिदिने गाउँपालिकाका अध्यक्ष तीलबहादुर थापाले जानकारी दिए । त्यस्ता परिवार पहिचान गरी बीमा गर्नका लागि रु तीन लाख ५० हजार विनियोजन गरिएको छ । “अल्पसङ्ख्यक परिवारको सङ्ख्या पहिचान गरी निःशुल्क स्वास्थ्य बीमा गरिदिन्छौँ”, उनले भने ।

गाउँपालिकाले सीमान्तकृत तथा आर्थिक सामाजिक रुपले पछाडि परेको भुजेल जातिको आयआर्जन वृद्धिका लागि पनि रु चार लाख बजेट विनियोजन गरेको छ । व्यास नगरपालिकाले विपन्न नगरवासीको स्वास्थ्य बीमा गरिदिने भएको छ । विपन्न नगरवासी र स्वास्थ्य बीमा नभएका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गर्न लागिएको हो । सबैलाई स्वास्थ्यको पहुँचमा ल्याउन र बीमा गर्न नसक्ने विपन्न परिवारलाई नगरपालिकाका तर्फबाट बीमा गरिने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।

जिल्लाकै आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयको प्राथमिक तहअन्तर्गत निश्चित वर्गका विद्यार्थीका अभिभावकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । प्राथमिक तहमा अध्ययन गर्ने विपन्न बालबालिकाका अभिभावकको स्वास्थ्य बीमा गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

बन्दीपुर गाउँपालिकाले पनि स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गर्ने भएको छ । सबै जनतालाई स्वास्थ्यको पहुँचमा ल्याउन बीमा कार्यक्रम विस्तार गरिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । आर्थिक रुपमा असहाय परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यसहित गाउँपालिकाले गत दुई वर्षदेखि स्वास्थ्य बीमामा सहयोग गर्दै आएको छ । आर्थिक अभावमा स्वास्थ्य बीमामा सहभागी हुन नसक्ने घरपरिवार छनोट गरी गाउँपालिकाले नै बीमा गरिदिने जनाइएको छ ।

गाउँपालिकाभित्रका सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन यो कार्यक्रम ल्याइएको थापाले बताए । आर्थिक रुपमा सम्पन्न भएका घरपरिवार स्वास्थ्य बीमामा सहभागी हुन सक्ने भए पनि गरिब तथा विपन्न घरपरिवार स्वास्थ्य बीमाबाट वञ्चित नहुन् भन्नका लागि योजना ल्याइएको थापाले जानकारी दिए । “हरेक नागरिकले स्वास्थ्य सेवा पाउनुपर्छ, स्वास्थ्य बीमाका लागि रकम हाल्न नसक्नेलाई गाउँपालिकाको खर्चमा स्वास्थ्य बीमा गराइन्छ”, उनले भने ।

You might also like

Comments are closed.