‘इन्टरलक’ इँटाको प्रयोग बढ्दै, के छ त कारण ?

सुदूरपश्चिम । पछिल्लो समय कैलालीमा माटोको इँटाको विकल्पमा वातावरणमैत्री ‘इन्टरलक इँटा’को प्रयोग बढ्न थालिएको छ । संरचना निर्माणमा इँटाको माग बढेसँगै ‘इन्टरलक’ इँटाको प्रयोग पनि बढ्दै गएको हो । चिम्नी इँटा सहजरुपमा र उचित मूल्यमा पाउन समस्या भइरहँदा विकल्पमा यो इँटाको प्रयोग बढ्दै गएको स्थानीयवासी कालु चौधरीले बताए ।

यो इँटा उत्पादन हुने ठाउँमा धुलो, धुवाँको समस्या नहुने भएका कारण वातावरणमा पनि कुनै त्यस्तो असर नपर्ने उद्योग सञ्चालकको भनाइ छ । इन्टरलक इँटाबाट संरचना निर्माण गर्दा चिम्नी इँटाको तुलनामा कम लागत पर्ने मदन इको इन्टरलक उद्योग धनगढीका सञ्चालक खेमराज जोशीले बताए ।

क्रसर उद्योगबाट निस्कने ढुङ्गाको धुलो, बालुवा, सिमेन्टको मिश्रणबाट बनाइएको मसलालाई साँचोमा राखेर यो इँटा तयार पारिन्छ । पछिल्लो महिनामा इन्टरलक इँटाको उत्पादन गर्ने पनि बढ्दै गएका छन् ।

जोशीको उद्योगबाट प्रत्यक्षरूपमा छ जनाले रोजगारी पाएका छन् । चिम्नी इँटाको प्रतिगोटा मूल्य रु १७ सम्म पर्दा यो इन्टरलक इँटा प्रतिगोटा रु ४५ सम्म पर्छ । “चिम्नी उद्योगको इँटाको आकारभन्दा इन्टरलक इँटाको आकार ठूलो हुन्छ”, सञ्चालक जोशीले भने, “यो इन्टरलक इँटा प्रयोग गर्नेहरू बढ्दै गएका छन् ।”

You might also like

Comments are closed.