पूर्वी पाल्पाको हाईस्कुलका नामले चिनिएको विद्यालय हो, रामतुलसी नमुना माध्यमिक विद्यालय । रामपुर नगरपालिका–५ स्थित बेझाड बजारमा सञ्चालित यो विद्यालय पाल्पाकै सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत गर्ने विद्यालयमा चिनिएको छ । समयानुसार शिक्षा प्रदान गर्दै शैक्षिक क्षेत्रमा विद्यालयले आफूलाई अब्बल साबित गर्न सफल बनेको छ ।
२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रामपुर नगरपालिकामै ४ जिपिए ल्याउने एकमात्र विद्यालय बनेको छ । एसइईमा २ जनाले ४ जिपिएसँगै ३३ जनाले ए प्लससहित १२९ जना विद्यार्थी उत्तिर्ण भएका छन् । विद्यालयको शैक्षिक व्यवस्थापनका सन्दर्भमा आर्थिक आवाजले विद्यालय व्यवस्थापन समिति अध्यक्ष विशाल श्रेष्ठ ‘अशोक’सँग गरेको संक्षिप्त कुराकानी :
रामतुलसीमै विद्यार्थी किन आकर्षित हुन्छन् ?
शहर बजारका महँगा विद्यालयले दिने भन्दा राम्रो सेवा दिने भएपछि विद्यार्थी स्वभाविक रुपमा नै रामतुलसीमा आउँछन् । ग्रामीण भेगमा रहेर सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सक्ने खालको शिक्षा प्रदान गरेका कारण विद्यार्थीको आकर्षण बढेको हो ।
विद्यार्थीले पठनपाठनमा के–कस्तो सुबिधा प्राप्त गर्नेछन् ?
शिक्षण कार्यमा विभिन्न छात्रवृत्तिहरु छन् । जेहेन्दार, मेहनती, अनुशासित, असहाय, अनाथ बालबालिकालाई विभिन्न छात्रवृत्तिहरु उपलब्ध गराउँदै आएका छौँ । विद्यालयमा विभिन्न व्यक्ति, संस्थाको सहयोगमा करिव ३० लाख बढीको अक्षयकोष स्थापना भएको छ । सो अक्षयकोषबाट विभिन्न विधामा छात्रवृत्ति उपलब्ध गराउँदै आएका छौँ । सामुदायिक विद्यालय हुनाले छात्रवृत्तिका लागि निःशुल्क तथा कम शुल्कमा पढाई, अनुशासन, संस्कार र व्यवहारिक ज्ञानमा जोड दिइएको छ । धेरै विद्यार्थीमा बढि प्रतिष्पर्धा गर्न, आफ्नो रुची अनुसारका धेरै विषय रोज्न पाइने, आवश्यक भौतिक पूर्वाधार अनुकुल वातावरण तथा विभिन्न समयमा सफल व्यक्तिसँग भेटवार्ता, गोष्ठी, तालिम लगायतका कार्यक्रम सञ्चालन भइरहेको छ । विद्यार्थीको सुबिधालाई मध्यनजर गर्दै स्कुल बस, पढ्दै खेल्दै सिक्ने वातावरण, स्वच्छ हावाका लागि हरियालीमय वातावरण, स्वच्छ खानेपानी, शौचालय, कम्प्युटर लगायत सम्बन्धित विषयका प्रयोगशाला लगायतका अत्याधुनिक सेवा सुबिधा विद्यालयले प्रदान गरिरहेको छ ।
विद्यार्थी, अभिभावक र समुदायसँग विद्यालयको सम्बन्ध कस्तो छ ?
हाम्रो विद्यालय भनेको एउटा खुल्ला विद्यालय हो । विद्यालयमा आउन कसैलाई बन्देज छैन । विद्यार्थी, अभिभावक र समुदायले विश्वास नगरेको भए विद्यालय यो अवस्थामा आउँथ्यो होला र ? विद्यालयप्रति यहाँका विद्यार्थी, अभिभावक, समुदाय, शिक्षाविद्, जनप्रतिनिधि, सरोकारवाला लगायत सबैले गरेको विश्वास र भरोसाका कारण विद्यालय यहाँसम्म आउन सफल बनेको छ ।
रामतुलसी पाल्पा जिल्लाकै धेरै विद्यार्थी पढ्ने विद्यालय हो, धेरै विद्यार्थीलाई कसरी व्यवस्थापन गरेर शिक्षण गरिरहनुभएको छ ?
पाल्पा जिल्लामै सबैभन्दा धेरै विद्यार्थी पढ्ने विद्यालय भनेको रामतुलसी मात्रै हो । हामीसँग हाल करिव २७ सय विद्यार्थी अध्ययनरत हुनुहुन्छ । सदरमुकाम तानसेन भन्दा करिव ६५ किलोमिटर पूर्वमा रहेको यस विद्यालय, त्यो पनि ग्रामीण भेगमा सञ्चालित छ । विद्यालयको संख्या अत्यन्तै धेरै हो । हामीले उत्कृष्ट शिक्षा दिएका कारण आज यो संख्यामा विद्यार्थीलाई शिक्षा दिन सफल भएका छौँ । हाम्रो विद्यालय बिहान र दिउँसो गरी २ सिफ्टमा चलाइएको छ । विद्यालय समय भनेको बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै हो भन्ने आमनागरिकको बुझाई छ । धेरै विद्यालय यसरी नै चलेका पनि छन् । हाम्रो विद्यालय बिहान देखि साँझसम्म नै खुल्ला रहन्छ । यहाँ कार्यरत प्रधानाध्यापक, शिक्षक कर्मचारी विद्यालयको आवश्यकताअनुसार जुनसुकै समयमा उपस्थित हुनुहुन्छ । शिक्षक, कर्मचारीको मेहनत, अभिभावकको साथ सहयोग, विद्यार्थीको अनुशासनले नै गर्दा धेरै विद्यार्थी धेरै भएपनि व्यवस्थापन गर्न समस्या छैन ।
आगामी दिनमा विद्यालयलाई कस्तो बनाउने सोँच छ ?
विद्यालय शैक्षिक सिकाईको थलो बनेको छ । विद्यालयमा आवश्यक पर्ने पूर्वाधार हामीसँग सबै लगभग नै छ । हाम्रो सोँच भनेको हरेक वर्ष एउटा नयाँ कार्य गर्दै जाने भन्नेछ । शिक्षामा समयसापेक्ष भित्रिएका स्रोत साधनको अभाव हुन दिने छैनौँ । शिक्षण कार्यमा शिक्षक र विद्यार्थीलाई आवश्यक पर्ने स्रोत साधन, उपकरण, शैक्षिक सामग्रीमा हामी कमी हुन दिदैनौँ । प्रअ, शिक्षक, कर्मचारीलाई पनि व्यवस्थापन समितिबाट राम्रो साथ छ । हामीले नयाँ कार्यका लागि अबरोध हुन दिएका छैनौँ । नयाँ काम गर्छु भनेर लागिपर्ने प्रअ, शिक्षक, कर्मचारीलाई हाम्रो रहेक कुरामा साथ सहयोग छ । विद्यालयलाई यहाँसम्म ल्याइपु¥याउने संस्थापक, पूर्व विद्यालय व्यवस्थापन समिति, चन्दादाता, अक्षयकोषदाता, सहयोगदाता, अभिभावक, शिक्षक, कर्मचारी, पूर्व प्रधानाध्यापक तथा शिक्षक, राजनैतिक दल, सामाजसेवी, जनप्रतिनिधि, समुदाय, पत्रकार एवं सरोकारवाला सबैलाई धन्यवाद दिन चाहान्छु ।
Comments are closed.