पूर्वी पाल्पाको हाईस्कुलका नामले चिनिएको विद्यालय हो, रामतुलसी नमुना माध्यमिक विद्यालय । रामपुर नगरपालिका–५ स्थित बेझाड बजारमा सञ्चालित यो विद्यालय पाल्पाकै सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत गर्ने विद्यालयको रुपमा चिनिएको छ । समयानुसार शिक्षा प्रदान गर्दै शैक्षिक क्षेत्रमा विद्यालयले आफूलाई अब्बल साबित गर्न सफल बनेको छ । २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रामपुर नगरपालिकामै ४ जिपिए ल्याउने एकमात्र विद्यालय बनेको छ । एसइईमा २ जनाले ४ जिपिएसँगै ३३ जनाले ए प्लससहित १२९ जना विद्यार्थी उत्तिर्ण भएका छन् । उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीका लागि के–कस्ता शैक्षिक गतिविधि सञ्चालन गर्दैछ, यसै विषयमा आर्थिक आवाजले प्रधानाध्यापक बालकृष्ण लम्सालसँग गरेको संक्षिप्त कुराकानी :
एसइई पश्चात् पनि रामतुलसी नमुना मावि नै किन पढ्ने ?
रामतुलसी एउटा जिल्लाकै शैक्षिक तथा भौतिक पूर्वाधार क्षेत्रमा अब्बल विद्यालय हो । हामीले समयानुकुल प्रविधिसहितको शिक्षा दिइरहेका छौँ । विद्यालयमा विदेशी शैक्षिक संस्थामा प्रयोग हुने प्रविधि हामीकहाँ छ । सुबिधा सम्पन्न सूचना प्रविधि कक्षाकोठा (आईसिटी ल्याब) बाट पठनपाठनको व्यवस्था छ । सदरमुकाम भन्दा बाहिर रहेरपनि सामुदायिक विद्यालयले शैक्षिक क्षेत्रमा नयाँ प्रविधिबाट शिक्षा दिइरहेको सायद यो नेपालमै सम्भवतः पहिलो विद्यालय हो । यहाँको शैक्षिक तथा भौतिक वातावरणले अधिकांश विद्यार्थीको रोजाई रामतुलसी बनेको छ ।
के–कस्ता विषयहरु पठनपाठन भइरहेको छ ?
पूर्वप्राथमिक तहदेखि १० कक्षासम्म तीन धारमा विद्यालय सञ्चालन भइरहेको छ । जहाँ अंग्रेजी, नेपाली र मण्टेश्वरी माध्यममा शिक्षण हुने गरेको छ । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, विज्ञान अन्तर्गत कम्प्युटर विज्ञान, मानविकीतर्फ समाजशास्त्र, ग्रामिण विकास, ऐच्छिक गणित, ऐच्छिक अंग्रेजी र शिक्षातर्फ ऐच्छिक विषयहरु अंग्रेजी, नेपाली, गणित, स्वास्थ्य शारिरिक, जनसंख्या, अर्थशास्त्र लगायत अन्य विषयहरु र प्राविधिक धारतर्फ बालिविज्ञान विषयमा पठनपाठन भइरहेको छ । यो वर्षदेखि कक्षा ११ मा व्यवस्थापन अन्तर्गत होटल म्यानेजमेन्ट विषय सुरु गर्नेछौँ ।
कक्षा ११ मा नयाँ विषय होटल म्यानेजमेन्ट सुरु गर्दै हुनुुहुन्छ, यसको तयारी के भइरहेको छ ?
नयाँ विषयका लागि आवश्यक पर्ने पूर्वाधार तयारी अवस्थामा रहेको छ । अब नयाँ काम भनेको प्रयोगशाला कक्ष तयार पार्न उपकरण व्यवस्थापन भइरहेको छ । प्रयोगशाला व्यवस्थापनमा करिव रु ३० लाख बढी रकम लाग्ने अनुमान छ । यो सबै विद्यालयको आन्तरिक स्रोतबाट हुनेछ ।
कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट नै किन अध्यापन गर्न लाग्नुभयो ?
शैक्षिक क्षेत्रमा नयाँ ईट्टा थप्ने विद्यालयको योजना र यो क्षेत्रमा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीको माग धेरै रहेकाले नयाँ विषय सञ्चालनको तयारीमा विद्यालय लागेको हो । धेरै खर्चिलो नहुने भएकाले विद्यार्थीले आफ्नै गाउँ ठाउँमा नयाँ विषय पढ्न पाउनेछन् । उच्च शिक्षा सकेर विद्यार्थी बाहिर जाने भएकाले होटल म्यानेजमेन्ट विषय पढ्न अन्यत्र लगानी गर्न नपर्ने हुँदा धेरै सजिलो हुने विद्यार्थीबाट अनुभव पाएकाले यसै वर्षबाट सुरु गर्दैछौँ । भर्ना अभियान सुरु भइसकेकाले सिट सिमित रहेको हुँदा छिटो भन्दा छिटो विद्यालयमा सम्पर्क गरेर भर्ना हुन विद्यार्थीलाई अनुरोध छ ।
होटल म्यानेजमेन्टमा कती विद्यार्थी भर्ना गर्ने विद्यालयको लक्ष्य रहेको छ ?
पहिलो वर्ष भएकाले हामीले धेरै विद्यार्थीको अपेक्षा गरेका छैनौँ । यसवर्ष ३० देखि ४० जना विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्ने विद्यालयको लक्ष्य छ । आवश्यक परेमा विद्यालयले सिटीईभिटीसँगको समन्वय गरेर डिप्लोमा सम्मको कक्षा सञ्चालन गर्न सकिनेछ ।
अन्त्यमा, विद्यार्थीलाई के भन्न चाहानुहुन्छ ?
विद्यालयले दिने शैक्षिक तथा भौतिक सेवा सुबिधाबारे विद्यार्थी, अभिभावक तथा सबैलाई अवगत नै छ । विद्यार्थीले यो वर्ष विद्यालयको इतिहासमै ४ जिपिएसहित उत्कृष्ट नतिजा ल्याएर उत्र्तिण हुँदा हामी अत्यन्तै हर्षित छौँ । सबैको माया, साथ सहयोगप्रति कृतज्ञ पनि छौँ । आगामी दिनमा पनि शैक्षिक क्षेत्रको सुधारका लागि सरोकारवालाबाट सल्लाहको अपेक्षा गर्दै रचनात्मक क्रियाकलापमा जोड दिने प्रतिबद्धताका साथ विद्यालय अगाडी बढिरहेको छ । एसइईको परीक्षामा उत्र्तिण विद्यार्थीलाई बधाई तथा शुभकामना र ग्रेडबृद्धिको परीक्षामा तयारी रहेका विद्यार्थीलाई परीक्षाको सफलताको कामना छ । कक्षा ११ मा भर्ना खुलिसकेको हुँदा विद्यालयमा आएर भर्ना हुन अनुरोध छ । हामीले विद्यार्थीले खोजेजस्तै, रोजेजस्तै शिक्षा दिनेछौँ ।
Comments are closed.