सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ खुल्यो

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) तथा बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पूँजी रु तीन अर्ब ३३ करोड २५ लाखको १० प्रतिशत अर्थात् रु ३३ करोड ३२ लाख ५० हजार बराबरको प्रतिसेयर रु एक सय दरका ३३ लाख ३२ हजार पाँच सय कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको छ। जसमध्ये आयोजना अतिप्रभावित क्षेत्र फुङ्लिङ नगरपालिका–१, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका–१ तथा भिक्वाखोला गाउँपालिका–१ र २, मेरिङदेन गाउँपालिका–२ र ३, आठराई त्रिवेणी गाउँपालिका–५ तथा मैवाखोला गाउँपालिका–१ मा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि ४० प्रतिशत र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङका बासिन्दाका लागि ६० प्रतिशत सेयर निष्कासन गरेको सार्वजनिक आह्वान पत्रमा उल्लेख छ ।

त्यस्तै सर्वसाधारणका लागि रु ४९ करोड ९८ लाख ७५ हजार बराबरको सेयर ४९ लाख ९८ हजार सात सय ५० कित्ता साधारण सेयरको १० प्रतिशत सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरेको हो।

लगानीकर्ताले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । जसमा आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा आगामी माघ १८ गते हुनेछ, भने ढिलोमा आगामी फागुन ४ मा हुने कम्पनीले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

स्थानीय बासिन्दाले हाइड्रोपावरको कार्यालय, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिनसक्ने कम्पनीले जनाएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

You might also like

Comments are closed.